भित्रयाइयो फूलपाती

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं— देशका विभिन्न कोत तथा दसैंघरमा फूलपाती भित्रयाइएको छ । विजया दशमीको सातौं दिन देशका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा देवीको पूजाआजा गरी फूलपाती भित्रयाइएको हो । सिन्धुलीको कमलामाई नगरपालिका ४ को रक्तमाला मन्दिरको दसैंघरमा सामूहिक फूलपाती भित्रयाइएको छ । रक्तमाला मन्दिर परिसरमा सेना र प्रहरीले फूलपाती बढाइँ गरेका थिए । यसैगरी ताप्लेजुङमा पनि नेपाली सेनाको ब्यारेकबाट गएको सेना र सशस्त्र प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालयबाट फूलपाती भित्रयाइएको छ । प्रहरीले भने हाङदेवा, दोखु, फुङलिङलगायत स्थानबाट अघिल्लै दिन फूलपाती ल्याउने गरेको छ । आइतबार धनकुटामा पनि विशेष बढाइँ आयोजना गरिएको छ । प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गराई तल्लो टुँडिखेलमा विशेष पूजापछि फुलपाती बढाइँ गरिएको थियो । काठमाडौंस्थित हनुमाढोका दसैंघरमा भित्राउन फूलपाती गोरखाबाट पठाइएको छ । हनुमानढोका फूलपाती पठाउन आइतबार बिहान गोरखा दरबारका सुसारेहरुले अमराई, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका प्रजातिका फूल र पाति संकलन गरेका थिए । वर्षौंदेखिको परम्परलाई निरन्तरता दिँदै गोरखा दरबारबाट फूलपाती काठमाडौंस्थित हनुमानढोका पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए । गोरखा दरबारको फूलपाती हनुमानढोका पुगेपछि दसैंको रौनक बढ्ने र दसैं भित्रियो भन्ने प्रचलन छ । बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमार्फत मोटरबाटो भएर फूलपाती काठमाडौंस्थित हनुमानढोका पठाइएको हो । सडक सञ्जाल नखुल्दासम्म एकीकरण पदमार्ग अन्तर्गत गोरखाबाट धादिङको केबलपुर–जीवनपुरको पैदलमार्ग हुँदै फूलपाती हनुमानढोका लाने प्रचलन थियो । पृथ्वीनारायण शाहले राज्य विस्तारसँगै राजधानी सारेपछि गोरखाको फूलपाती हनुमानढोका पठाउने प्रचलन सुरु भएको मानिन्छ । पुर्ख्यौली थलोको कुल देवतामा चढाइने फूलपाती हनुमानढोकको नवस्थापित देवतामा पनि चढाउने मान्यता शाह वंशीय राजाहरुले नै सुरु गरेको अग्रजहरु बताउँछन् । आइतबार बिहान धिमेवाजा, फूलपातीको डोली लावालस्करसहित हर्षोल्लासका साथ गोरखाबाट फूलपाती पठाइएको छ । वर्षौंदेखिको फूलपाती काठमाडौं पठाउने परम्पराको निरन्तरताले धार्मिक, संस्कृतिको संरक्षण सँगै पर्यटकीय प्रवर्द्धनमा पनि सघाउ पुर्‍याउने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले बताए ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०८
प्रतिक्रिया दिनुहोस्