काठमाडौं–४ मा गगन थापा विजयी

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं–काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

 


थापाले २१३०२ मत ल्याएर थापा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईले १३०३२ मत ल्याएका छन् ।
२०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । यसपटक थापाले फराकिलो मतान्तरले विजयी भएका छन् ।

 

 

उक्त क्षेत्रबाट यो उनको चौथो जित हो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित महामन्त्री थापा संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए भने प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं(४ बाटै निर्वाचित भएका थिए । उनी यसअघि २०७३ सालमा स्वास्थ्यमन्त्रीसमेत भएका थिए ।

 


२०४६ सालको जनआन्दोलनमा विद्यार्थी अवस्थामै राजनीतिमा सक्रिय सहभागिता जनाएका उनी २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएका थिए । त्रिचन्द्र क्याम्पसमा २०५३ सालमा स्ववियु सचिव र २०५५ मा सभापतिमा निर्वाचित भएका थापा त्रिभुवन विश्वविद्यालय सिनेट सदस्यसमेत रहेका थिए ।

 


२०५७ मा नेविसंघ केन्द्रीय उपाध्यक्ष बन्दै २०५९ सालमा नेविसंघको महामन्त्रीको पद सम्हाले थापा २०६८ मा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०७२ सालमा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका उनी हाल कांग्रेस महामन्त्रीको रुपमा रहेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:२५
प्रतिक्रिया दिनुहोस्