सुकुम्बासी भन्छन्– जो आए पनि दुःख मात्रै दिन्छन्

मंगलबार, मंसिर १३, २०७९

काठमाडौँ— जनताको विश्वास जितेर भारी मत सहित विजय भएका बालेन साहको पछिल्लो समय विरोध भइरहेको छ । उनी माथि गरिबलाई दुख दिएको  लगायतका आरोपहरू सहित विरोध भईरहेका छन् ।  

 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरलाई व्यवस्थित बनाउनको लागि भन्दै अव्यवस्थित संरचना हटाउने अभियान चालेका छन् । सोही अन्तरगत थापाथली स्थित रहेको सुकुम्बासी बस्ती खाली गराउनको लागि भन्दै हिजो (सोमबार) महानगरको टोली डोजर सहित बस्तीमा पुगेर हटाउन खोजेको थियो । त्यसक्रममा दुवै समुहबीचको झडप हुँदा स्थिति तनावग्रस्त भएको थियो । ३६ जना त घाइते भए । 

 

आफूहरूलाई उचित बसोबासको व्यवस्था नमिलाई बस्ती हटाउन लागिएको भन्दै सुकुम्बासीले बालेन शाहको विरुद्धमा प्रदर्शन जारी राखेका छन् । उनीहरूले सडकमा मेयर शाह को पुत्ला जलाउँदै डोजर आतंक बन्द गर सहितको नारा सहित प्रर्दशन गरेका छन् । 

 

४५ वर्षीय सुर्य सिलवाल आफू जन्मिए देखी नै सुकुम्बासी बस्तीमा बस्दै आएको बताउँछन् । उनलाई बालेनले गरिब जनताको साथ दिन्छ जस्तो लागेको थियो तर त्यस्तो नभएर आफू भ्रममा परेको बताए । उनका दुई सन्तान रहेका छन् । आफूलाई केही नचाहिएको तर महानगरले आफूहरूको उचित व्यवस्थापन भने गरिदिनु पर्ने उनीहरूको माग रहेको छ । 

 

अत्यन्तै विश्वास गरिएका र पढेलेखेका मेयर जस्तो मान्छेले नै आफूहरू माथि अन्याय गरेको बताउँछिन् ४० वर्षीय सिता ( नाम परिवर्तन ) । उनलाई कुन समयमा डोजर चलाउने हो भन्ने डरले राती निदाउन समेत गाह्रो हुने बताइन्  ।   

 

जुनसुकै सरकार आए पनि आफूहरुलाई दुःख मात्रै दिने गरेको उनको भनाई छ । त्यस्तै मेयर शाहलाई उनले आफूहरुलाई कति समस्या छ भन्ने कुरा एक पटक गरिबको टहरोमा गएर हेर्न आग्रह गरेकी छन् ।   

 

एकीकृत बागमती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली बस्तीमा पुगेर हटाउन खोजेको थियो ।

 

समितिले ४ मङ्सिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र अशान्त छ । यो क्षेत्रमा करिब ५ हजार सुकुम्वासीको जनसंख्या रहेको अनुमान छ ।



 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्