‘ह्यारी कि प्यारी’ रिलिजको तयारीमा

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं–हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सिनेमा ‘ह्यारी कि प्यारी’ रिलिजको तयारीमा छ । हास्य कलाकारका रुपमा चिनिएका जितु र रोमान्टिक अभिनेत्रीको छवि बनाएकी साम्राज्ञीको यो पहिलो फिल्म हो । 


माघ २० प्रदर्शन हुन लागेको यो सिनेमालाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् । रिलिजको लागि २ महिनाको समय बाँकी रहँदा सिनेमाको टिम भने यतिबेला बलिउड नगरी मुम्बई पुगेको छ । मुम्बईको चर्चित प्राइम फोकस स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सनको काम भइरहेको छ । प्राइम फोकसले यसअघि ‘ओम शान्ति ओम’, ‘मेरी कोम’, ‘पा’, ‘गुरु’, ‘गजनी’, ‘एक भिलेन’, ‘कयामत’, ‘धडक’, ‘गुड न्युज’ जस्ता थुप्रै बलिउड सिनेमाको सम्पादन गरिसकेको छ । 


नेपालमा पर्याप्त प्रोडक्सन स्टुडियो भए पनि मुम्बईको अत्याधुनिक स्टुडियोमा प्रोडक्सन कार्य थालनी गरिएको निर्देशक रिजालले बताए । निर्देशक गिरिराज घिमिरेले मुम्बईमा काम गर्दा टेक्निकल रुपमा सजिलो हुने बताउँछन् । 


सिनेमाका छायाकार सुदिप बराल मुम्बईमा पोस्ट प्रोडक्सनको काम गर्दा प्राविधिक रुपमा सिनेमा अब्बल हुने विश्वास गर्छन् । बरालले मुम्बईको कामले नेपालमा पनि प्राविधिक शिक्षा अझ बिस्तार हुने आशा बोकेका छन् । सिनेमा सम्पादनको लागि मुम्बई पुगेका अभिनेता जितु नेपाल त्यहाँको स्टुडियोले नेपाली सिनेमालाई दिएको माया र सम्मानको कदर गर्छन । ‘गजनी’, ‘तारे जमीन पर’, ‘पिके’, ‘गोलमाल’, ‘थ्री इडियट्स’, ‘सिङ्घम’ जस्ता बलिउडका चर्चित सिनेमामा साउण्ड मिक्सिङको काम गरिसकेका सुवीर दासले ‘ह्यारी कि प्यारी’मा साउण्ड मिक्सिङ गर्न पाउँदा एउटा माइलस्टोन पार गरेको बताउँ छन् । ‘सिनेमाको कन्टेन्ट र भावना राम्रो छ । यो कन्टेन्ट दर्शक माझ पुग्न जरुरी जस्तो लागेपछि मिक्सिङको काम अगाडी बढाएँ । यो मेरो करिअरको माइलस्टोन हो । सिनेमाले भावनात्मक रुपमा दर्शकसँंग कनेक्ट गर्न सक्छ,’ उनले भने ।


साउण्ड इन्जिनियर दासका अनुसार ‘ह्यारी कि प्यारी’मा बलिउड सिनेमा ‘बजरंगी भाइजान’को लेभलको कलरको काम भएको छ । स्टुडियोका प्रोडक्सन हेड निर्मल गालाले ‘ह्यारी कि प्यारी’ मनोरन्जनको प्याकेजिङ भएकाले संगीत दिन मज्जा आएको बताए । 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार