Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिसोले जुम्लाको जनजीवन प्रभावित

आइतबार, पुस १७, २०७९

जुम्ला–हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका विरामी वृद्धि हुन थालेका छन् । १ सातादेखि बढेको चिसोले जुम्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । अस्पतालमा उपचारका लागि पहिलाभन्दा यस याममा बढी बिरामी आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिसिन विभागका डा. राजेन्द्रमणि गिरीले जानकारी दिए ।


चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्या बढेको छ । उनले भने, ‘सामान्य अवस्थामा औसतमा सय जना बिरामी उपचारका लागि आउने गरेकामा यो समयमा दैनिक करिब ३०० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।’


लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको प्रतिष्ठानका डा गिरीको भनाइ छ । चिसो ह्वात्तै बढेपछि जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ । 


चिसोले सदरमुकाम खलङ्गामा चहलपहल घटेको छ । बिहानको समयमा सडकमा सवारीसाधनसमेत चल्न निकै गाह्रो हुने गरेको पातारासी गाउँपालिकाका स्थानीयवासी मुनबहादुर ऐडीले बताए ।


चिसोकै कारणले यहाँका स्थानीय तहले सामुदायिक विद्यालयलाई हिउँदे बिदासमेत दिएको स्थानीय तहका शिक्षा शाखाले जनाएका छन् । चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या छ । 


जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ७ र अधिकमत तापक्रम १३ दशमलव ७ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार