Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालमा हवाई दुर्घटनाः दोषी मौसम कि संयन्त्र ?

एयरक्राफ्ट (मेसिन), पाइलट (जनशक्ति) र प्रोसेड्युर अर्थात् समग्र प्रणाली र प्रक्रियाबीच आपसी तालमेल नहुँदा समस्या दोहोरिने गरेको
आइतबार, माघ १, २०७९

काठमाडौं । गत जेठ महिनामा पोखराबाट जोमसोमका लागि उडेकोे तारा एयरको जहाज मुस्ताङको थासाङमा दुर्घटना हुँदा चालक दलका तीन सदस्य सहित २२ जनाको मृत्यु भएको थियो । त्यसको ९ महिनापछि काठमाडौँबाट ६८ जना यात्रु र चालक दलका ४ जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटिआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।

 

पटक–पटक हुने हवाई दुर्घटनाका कारण हवाई सुरक्षामा प्रश्न उठेपनि यो समस्याको मुख्य जड के हो भन्ने पत्ता अहिलेसम्म लागेको छैन ।

 

हवाई क्षेत्रको दुर्घटना न्यूनीककरण र सुधार गर्न न त सरकार अग्रसर छ नत हवाई सेवामा लगानी गदै आएका निजी कम्पनीले नै चासो दिएका छन् ।

 

नेपालको हवाई दुर्घटना र हवाई सुरक्षाको विश्वव्यापी मापदण्ड परिपालना नगरेको भन्दै युरोपेली संघ इयुले प्रतिबन्ध लगाएको करिब १० वर्ष भएको छ । सरकारले उक्त प्रतिवन्ध फुकुवा गर्न निरन्तर प्रयास गरिरहेका बेलामा नेपालमा हवाई दुर्घटना भने दोहोरिदैँ आएका छन् । जसका कारण हवाई यात्राको जोखिम भने कायमै रहेको इयुले बताउँदै आएको छ ।

 

नागरिक उड्डयनको अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले त नेपाल विश्वकै असुरक्षित आकास भएको भनेर प्रतिवेदन नै सार्वजनिक गरेको छ । यो सूचीमा नेपाल लामो समयदेखि पर्दै आएपछि युरोपेली एयरलाइन्सले त नेपालमा विमान उडाउन छाडेका छन् । उड्डयन सुरक्षाका लागि अनिवार्य मानिने बिभिन्न ८ वटा पक्षमा नेपालले न्युनतम मापदण्ड समेत पूरा नगरेको आईकाओको तर्क छ ।

 

सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गरेको छ ।

 

सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । उक्त आयोगलाई ४५ दिनभित्र यति जहाज दुर्घटनाको तथ्य उपलब्ध गराउन भनिएको छ ।  

 

नेपालमा भएका अधिकांश हवाई दुर्घटना मौसमका कारण भइरहेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् । 

 

नेपालको पहाडी तथा हिमाली भेगमा मौसम पूर्वानुमान नै गर्न नसक्ने अवस्था भएकै कारण हवाई दुर्घटना हुँदै आएको  क्यानका महानिर्देशक अधिकारी बताए । 

 

‘पहाडी र हिमाली भेगमा धेरै दुर्घटना हुने गरेको छ । दुर्घटनाको कारण मौमस नै हो । कतिपय अवस्थामा मौसमभन्दा प्राविधिक कारण हुने गरेका छन्,’ महानिर्देशक अधिकारीले क्यानडा नेपालसँग भने ।

 

नेपालमा हुने धेरै हवाई दुर्घटना मौसमका कारण भइरहेका छन् । अहिलेसम्म सराकारले गरेको छानविन आयोग यस्तै प्रतिवेदन सरकारलाई बुझाउँदै आएका छन् ।

 

नेपाली आकाशमा अन्तर्राष्ट्रिय उडानका आठ जहाज दुर्घटनामा परेका छन्, जहाँ तीन सय ७३ यात्रुले ज्यान गुमाएका थिए । भने, तीन सय ८५ जना घाइते प्राधिकरणको अध्ययन प्रतिवेदनहरुमा उल्लेख छ ।

 

यस्तै, विमानहरु थ्रेसहोल्ड (सीमा) मा चल्छन् कि चल्दैनन् भन्ने विषयको अनुगमन हुनुपर्ने र राष्ट्रियरुपमा अनुगमन पर्ने हवाई विज्ञ केबी लिम्बु बताउँछन् । 

 

जलवायुको अवस्थालाई मध्यनजर गरी विमान उडाउने अन्तर्राष्ट्रिय अभ्यास भएको तर नेपालमा भने आन्तरिक उडानको क्रममा पूर्व सूचना प्रणाली कमजोर हुँदा जहाज दुर्घटना हुने गरेको उनको भनाई छ । 

 

कम्पनीहरूले विकल्पमा अर्को चालक दल नराख्ने र एउटै समूहले उडान गरिरहँदा पर्याप्त आराम नपाउने जस्ता समस्या पनि दुर्घटनाको कारण हुने लिम्बुले बताए । 

 

‘हवाई दुर्घटना न्यूनीकरणका लागि भन्दै पटकपटक छानबिन समितिसमेत गठन गरिन्छ । यी समितिले के आधारमा अध्ययनसँग छानविन गर्छन्, प्रतिवेदन तयार पारिए तर कार्यान्वयन भने हुन नसक्दा पटकपटक उस्तै दुर्घटना दोहोरिने गरेको छ,’ लिम्बुले भने ।

 

हवाई क्षेत्रसँग प्रत्यक्ष जोडिने एयरक्राफ्ट (मेसिन), पाइलट (जनशक्ति) र प्रोसेड्युर अर्थात् समग्र प्रणाली र प्रक्रियाबीच आपसी तालमेल नहुँदा समस्या दोहोरिने गरेको र यो समस्या समाधान गर्न सरकारले चासो नदिएको उनको भनाई छ ।

 

दुर्घटनाका सम्बन्धमा बनेका छानबिन आयोगका प्रतिवेदनले अधिकांश दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही औंल्याएका छन् । तर, चालकको लापरवाही के हो भनेर नखुलाउँदा प्रतिवेदनमाथि नै प्रश्न उठ्ने गरेको छ । 

 

नेपालमा सञ्चालनमा रहेका हवाई कम्पनीले सीमित संख्यामा मात्र पाइलट राख्ने भएकाले पनि एउटै पाइलटलाई त्यसको बोझ बढी हुने गरेको विज्ञहरुको तर्क छ ।

 

नेपाली आकाश भौगोलिक कठिनाई र मौसमी विविधताले असुरक्षित मानिदै आएको छ । यद्यपि, हालसम्म भएका हवाई दुर्घटना के कारणले हुन्छन् भन्ने यकिन प्रतिवेदन तयार हुन भने सकेको छैन । जसका कारण पनि नेपालमा भइरहेको हवाई दुर्घटनामा संयन्त्रको पनि कमजोरी देखिने गरेको यो क्षेत्रका सरोकारवालाले बताउँदै आएका छन् । 

 

यसरी भएका दुर्घटनामा पाइलटलाई मुख्य दोषीका रूपमा देखाइएको पाइन्छ । नेपालमा भएका हवाई दुर्घटनाको वास्तविक कारण भने प्राधिकरणले बाहिर ल्याउन सकेको छैन । जसका कारण हवाई दुर्घटनाको बारेमा धेरै विषयमा सर्वसाधारण अनभिज्ञ छन् ।

 

नेपालमा ९६ वटा साना–ठुला हवाई दुर्घटना भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकमा छ । आजभन्दा पहिलेकै दुर्घटनामा ६० जना चालक दलका सदस्यको मृत्यु भइसकेको छ भने नेपालमा अहिलेसम्म भएका दुर्घटनामा ८ सय जनाभन्दा धेरैले ज्यान समेत गुमाएका छन् । 

 

नागरिक उड्ययन प्राधिकरणको तथ्यांकमा ९५ प्रतिशत दुर्घटनाको कारण ‘प्राविधिक’ देखाइएको छ । तर, त्यो प्राविधिक कारण के हो भन्ने विषय भने अहिलेसम्म खुलाइएको छैन । तर, अहिलेसम्म दुर्घटनाको प्रतिवेदन हेर्दा भएको दुर्घटनालाई आधार मानेर अध्ययन र छानविन भइरहेको विज्ञहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्