Nic Ad Nic Ad
Nic Ad Nic Ad

अरबिका जातको आग्र्यानिक  ‘धनकुटा कफी’ बजारमा

आइतबार, माघ ८, २०७९

काठमाडौँ – डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादन जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी हो ।

 

२०७२ बाट धनकुटा नगरपालिका–२ गणेशटार भिरगाउँमा कफीखेती सुरु गरेको यस एग्रो इन्डस्ट्रिजले आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । १ करोड ५० लाखको लागतमा १२० रोपनीमा कफीखेती सुरु गरेको इन्डस्ट्रिजले यो हप्ताबाट प्याकेजिङ कफीको सुरुआत गरिएको सञ्चालक टीकाराम दर्नालले जानकारी दिए।

 

२५० ग्रामको बजार मूल्य ६५० पर्ने अरबिका जातको आग्र्यानिक कफी बजारमा ल्याइएको उनले जानकारी दिए। महोत्सवमा राखिएको यो कफी सबैले मन पराएर खाएको सञ्चालक दर्नालले सुनाए । लगानी अभावका कारण हाललाई २ लाख ५० हजारको लगानीमा २ सय केजीबाट परीक्षण उत्पादन सुरु गरिएको अर्का सञ्चालक युवराज दर्नालले जानकारी दिए।

 

‘यो हाम्रो उत्पादन प्रदेश नं १ कै पहिलो अग्र्यानिक कफी हो’, उनले भने। आफ्नो खेतीको पूर्ण उत्पादन प्रशोधन गरेर बजारमा ल्याउन डेढ करोड लगानीको आवश्यकता रहेको भए पनि लगानी अभावका कारण अहिले काठमाडौँमा प्याकेजिङ गरेर कफी बजारमा ल्याउनुपरेको दर्नालले दुःखेसो गरे ।


 
हाल १५ टन चेरी (फल कफी) उत्पादन गरेर पाचमेन (बोक्रो उकाएको कफी) तयार पारेर काठमाडौँ पठाउने इन्डस्ट्रिजले अबको २ वर्षमा २५ टनभन्दा बढी उत्पादन गर्ने युवराजले जानकारी दिए।


 
एनआइसी एसिया बैंकको १० लाख, माछापुच्छ्रे बैंकको ५ लाख, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको ४÷४ लाख र बाँकी निजी लगानीमा कफीखेती गरेको इन्डस्ट्रिजले वार्षिक ३० लाख बराबरको चेरी (दाना कफी) बेच्ने गरेको छ ।


 
हाल लगानी वर्ष चलिरहेकाले वार्षिक ४५ लाखभन्दा बढी खर्च भइरहेको बताउँदै सञ्चालक युवराजले अबको २ वर्षपछि भने ३ करोड बराबरको चेरी उत्पादन गरेर बिक्री गर्ने जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्