मंगलबार
६ फाल्गुण
२०७६

यसकारण मलाई हेग लैजान सकिँदैन : प्रचण्ड

बिहीबार फाल्गुण १, २०७६/ Thursday 02-13-20

काठमाडौं । तत्कालीन माओवादी युद्धमा सहभागी नेताहरुले बिहीबार २५औं जनयुद्ध दिवस मनाइरहेका छन् । युद्धको नेतृत्व लिएको पार्टी माओवादी अहिले अस्तित्वमा छैन । विभिन्न राजनीतिक दलमा आवद्ध भएका पूर्वमाओवादीका नेता तथा कार्यकर्ताहरुले बिहीबार २५औं जनयुद्ध दिवस मनाइरहेका छन् । 

माओवादी युद्धको नेतृत्व हालका सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिएका थिए । यस युद्धमा करिब १७ हजार मारिएका मध्ये ५ हजारको जिम्मा लिने सार्वजनिक अभिव्यक्ति दिएर विवादमा परेका प्रचण्डलाई युद्ध अपराधको आरोपमा हेग लैजाने चर्चाले नेपाली राजनीतिमा तरंग ल्याउने गरेको छ । नेदरल्याण्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसी छ । जसले नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराध लगायत विषयका मुद्दा हेर्ने गर्छ।

तर, आफूलाई हेग लैजान नसकिने प्रचण्डले बताएका छन् । एपीवान टेलिभिजनको तमसोमा ज्योतिर्गमय कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा अध्यक्ष प्रचण्डले आफूलाई हेग लैजान नसकिने जिकीर गरेका हुन् । 

माओवादी युद्ध शान्ति प्रक्रियाबाट टुंग्याइएको, द्वन्द्व सम्बन्धी विभिन्न पक्षको आयोगद्वारा समाधान खोजिएको, द्वन्द्व पीडितलाई न्यायसहित समाधान खोजिएको, प्रचलित संविधान र कानुनको परिधिबाट शान्ति प्रक्रियालाई टुंग्याउन खोजिएको र पटक पटक जनताबाट अनुमोदित भएर सरकारसमेत चलाइसकेकाले आफूलाई हेग लैजान नसकिने प्रचण्डले दाबी गरेका हुन् । 

‘केही पश्चिमा शक्ति राष्ट्रको र केही व्यक्तिको खेलअनुसार बेला बेला आफूलाई हेग लगिने हल्ला फिँजाएका मात्रै हुन्’, प्रचण्डको भनाइ छ ।