मंगलबार
६ फाल्गुण
२०७६

देउवाको चार वर्षे कार्यकाल पूरा, कांग्रेस रसातलमा

बिहीबार फाल्गुण १, २०७६/ Thursday 02-13-20

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल फागुन लागेसँगै बिहीबार पूरा भएको छ । २०७२ फागुन तेस्रो साता सम्पन्न १३औं महाधिवेशनबाट सभापति बनेका देउवाको कार्यकालमा कांग्रेस कमजोर प्रतिपक्षी सावित भएको छ । मुलुकमा भएका राजनीतिक परिवर्तनको नेतृत्वका लिएको कांग्रेस संविधान बन्नु अघिसम्म पहिलो राजनीतिक दल बनेको थियो ।

तर, संविधान जारी भएपछि भएको पहिलो स्थानीय तहदेखि केन्द्रीय तहसम्मको चुनावबाट कमजोर प्रतिपक्षी दल बन्न पुगेको कांग्रेस अहिले आफ्नो साख र प्रतिष्ठा जोगाउन कसरत गरिरहेको छ । मितिकै हिसावले देउवाको कार्यकाल पूरा हुन केही हप्ता बाँकी रहे पनि महिनाको हिसावले सकिएको छ । तर, कार्यकाल सकिँदासम्म पनि देउवाले पार्टीका सदस्यदेखि विभिन्न संगठन र विभागमा नियुक्त गर्न सकेका छैनन् । 

प्रतिनिधि सभामा कमजोर उपस्थिति जनाएको कांग्रेसका नेताहरुको विभिन्न अनियमितता र भ्रष्टाचारमा नाम मुछिएको छ । कतिपय घटनामा स्वयम् सभापति देउवाकै नाम जोडिनु कांग्रेस दुर्गतिको कारक कांग्रेसकै कार्यकर्ताले मान्ने गरेका छन् । सरकारले विवादास्पद विधेयक ल्याउनेदेखि राज्यको स्रोत साधन र सम्पत्तिमाथि दोहन हुँदासम्म कांग्रेस चुइँक्क बोल्न सकेको छैन ।

सभापति देउवाको कार्यशैली र अभिव्यक्ति बेला बेलामा विवादमा पर्ने गरेको छ । प्रतिपक्षी दल कांग्रेस नेतृत्वले सरकारलाई खबरदारी गर्ने कार्यमा सक्रियता देखाउन सकेको छैन । इतिहासमै कांग्रेस अहिले कमजोरस्थितिमा पुगेको टिप्पणी हुन थालेको छ ।