मंगलबार
६ फाल्गुण
२०७६

प्रचण्ड त बिहान बिहान सद्‌गुरुको प्रवचन सुन्न थाले, अरुको के कुरा

शुक्रबार फाल्गुण २, २०७६/ Friday 02-14-20

काठमाडौं । कम्युनिस्टहरू धर्मलाई अफिम ठान्छन् । नेपालका कम्युनिस्ट पार्टीहरू पनि त्यसबाट अछुत छैनन् । भन्नलाई उनीहरू पनि कम्युनिस्टले धर्म, जातपात मान्दैनन् भन्छन् ।

दस वर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले आफ्नो धर्म संस्कृति मान्ने धेरैलाई दुःख दिए । टुपी काटे, जनै चुँडाए । आमाको किरिया बसेकालाई उठाएर लिएर गए । तर, अहिले त्यसबेला धर्म र संस्कृतिको विरोध गर्ने अधिकांश माओवादी नेताहरूको बदलिएका छन् ।

माओवादी आन्दोलनका अगुवा पुष्पकमल दाहाल प्रचण्डले त शान्ति प्रक्रियामा आइसकेपछि सुनसरीको चतराधाम गएर भैंसीपूजासमेत गरे । दशैं र तिहार नमान्ने प्रचण्ड निधारमा रातो टीका र गलामा फूलको माला लगाउन छाड्दैनन् । बाहिर पार्टीको कार्यक्रममा जाँदा हरेक समय प्रचण्डको निधारमा रातो टीका र माला भएकै हुन्छ ।

पछिल्लो समय प्रचण्ड आध्यात्मिक हुँदै गएका छन् । त्यो कुरा उनी आफैंले खोलेका हुन् । हालै होटल हायातमा आयोजित कान्तिपुर कन्क्लेभमा प्रचण्डले आफूले बिहान बिहान सद्गुरुको आध्यात्मिक प्रवचन सुन्ने गरेको सुनाए । तर, उनले सद्गुरुको प्रवचनलाई माक्र्सवादी चिन्तनशैलीले व्याख्या गर्ने गरेको भन्दै मिलाउन खोजे । उनले सद्गुरुको प्रवचनले आफूमा ऊर्जा प्रदान गर्ने बताए ।

प्रचण्डको यो अभिव्यक्तिले उनी विस्तारै आध्यात्मिकतिर ढल्किँदै गएको देखिन्छ । राजनीतिक रूपमा माथिल्लो पदसम्म पुगे पनि उनको परिवारमा समस्या धेरै छ । परिवारका प्रिय सन्तानलाई गुमाउनु परेको छ । श्रीमती सीता दाहालको स्वास्थ्य अवस्था नाजुक छ । त्यसैले पनि यो उमेरमा आएर प्रचण्ड आध्यात्मिक बन्न थालेको विश्लेषण गर्न थालिएको छ ।