मंगलबार
२५ चैत
२०७६

संविधान संशोधन नभए सडक आन्दोलन थाल्ने उपेन्द्र यादवको चेतावनी 

आइतबार फाल्गुण ४, २०७६/ Sunday 02-16-20

 काठमाडौं। समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए सडक आन्दोलन थाल्ने चेतावनी दिएका छन्।


आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले संविधान संशोधन नभए सडकबाट संघर्ष शुुरु गर्ने चेतवनी दिएका हुन् । 

संघीयतालाई दिगो बनाउन स्वायत्त प्रदेश सरकारसहितको शासकीय र निर्वाचन प्रणाली आदिबारेमा संविधान संशोधन हुनुपर्ने आफूहरुको माग रहेको र त्यसलाई जसरी भए पनि संशोधन गराएरै छाड्ने बताए। ‘सकेसम्म हामी सदनबाट संविधान संशोधन गराउन संघर्ष गर्छौं,’ यादवले भने, ‘पार लागेन भने आन्दोलन थाल्नुको विकल्प हुने छैन।’ 

उनले संविधान संशोधन गर्ने दस्ताबेज भएकैले भारतमा समेत एक सय पाँचपटकसम्म संशोधन भइसकेको उल्लेख गरे।

फरक प्रसंगमा यादवले राजपासँगको गठबन्धन कायम रहेसम्म प्रदेश २ मा आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकार कसैले पनि ढाल्न नसक्ने बताए। उनले राजपासँग आफूहरूको गठबन्धनमा कुनै समस्या नभएको बरू भावी दिनमा पार्टी एकतासमेत हुने सक्ने संकेत गरे। ‘कसैले दुई नम्बरको सरकार हटोस् भनेर कुदृष्टि लगाउँदैमा सरकार तलमाथि हुनेवाला छैन,’ उनले भने।

यादवले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए। ‘पहिले धमाधम कानूनहरु बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा ओली सरकारले लोकतन्त्र विरोधी कानूनहरु निर्माण गरेर आफूलाई अधिनायकवादतर्फ लग्न थालेको छ,’ यादवले भने। 

उनले संघीय सरकारले सेनालाई प्रधानमन्त्री मातहत ल्याउने, प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता कटौती गर्ने अनि व्यक्त्तिको गोपनियताको अधिकार खोस्ने खालका विधेयकहरू निर्माण गरिसकेको र त्यो पारित भएमा देश पूर्ण रुपमा अधिनायकतर्फ जाने र संघीयता धरापमा पर्ने दाबी गरे।