मंगलबार
२५ चैत
२०७६

कोरोनाभाइरसको इपिसेन्टर हुबे प्रान्तमा हिँड्डुल गर्न चीन सरकारको रोक, निजी कार प्रयोग बन्द

सोमबार फाल्गुण ५, २०७६/ Monday 02-17-20

एजेन्सी । चीनले कोरोनाभाइरसको इपिसेन्टर हुबे प्रान्तमा हिँड्डुल गर्न प्रतिबन्ध लगाएको छ । भाइरस नियन्त्रणका लागि संघर्षरत चीन सरकारले हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको हो।


आपत् परेको बेलाबाहेक ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ । निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ।

हुबे प्रान्तमा कोरोनाभाइरसबाट आइतवारसम्म १६ सय ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । हुवे प्रान्तका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि उनीहरू आपतकालीन अवस्थामा चाहिँ बाहिर निस्किन पाउनेछन्।
त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरबाट एकजनालाई तीन तीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ। औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवाबाहेक अरू सबै कारोबार बन्द रहनेछन्।

चिनियाँ अधिकारीहरूले आइतवार २,००९ वटा नयाँ सङ्क्रमणका घटना पाइएको बताएका थिए। शनिवार नयाँ सङ्क्रमणका घटना २,६४१ र शुक्रवार ५,०९० घटना पाइएको थियो। चीनमा आइतवारसम्म ६८,५०० व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।