मंगलबार
२५ चैत
२०७६

ऐतिहासिक गलकोटमा विश्वका मूर्तिकारको जमघट, पाँचदेखि १० टनसम्मका ठूला ढुंगामा मूर्ति कुँदिँदै लगेर राखिए

सोमबार फाल्गुण ५, २०७६/ Monday 02-17-20

बागलुङ । बागलुङको गलकोटमा आयोजना हुने अन्तर्राष्ट्रिय मूर्तिकार कार्यशालाका सहभागी दर्जनौं कलाकार जमघट भएका छन् ।


जुन इचिरो सुगीमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), ट लिन लि जेन (ताइवान) जुली ग्ल्यास्पी (क्यानडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्जलुइज (ब्राजिल) र ल्युड्मेल (युक्रेन) कार्यशालामा भाग लिन बागलुङ आएका हुन् । नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग दिनेछन् ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलसहित कालिका भगवती गुठी व्यवस्थापन समिति, जिल्ला प्रशासन र गलकोट क्षेत्रका बासिन्दाले कालिका मन्दिर परिसरमा कलाकारलाई स्वागत गरे । सोमबारदेखि गलकोट नगरपालिका–५ टेउवामा कार्यशाला शुरु हुँदैछ । सहभागी कलाकारले फागनु २१ गतेसम्म टेउवामा बसेर मूर्ति कुद्ने छन् । विशेष गरी मानव जीवनका लागि उपयोगी, इतिहास र संस्कृतिसम्बन्धी मूर्ति कुँदिने योजना बनाइएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले जानकारी दिए ।

गलकोट ऐतिहासिक कोटभित्र रहेको छ ।  यहाँको धेरै इतिहास र कलासमेत रहेको बताइन्छ । कलालाई पुनर्जागरण गर्ने, विदेशमा भएका कतिपय कलाकारिता र मानवीय संवेदनासँग जोडिएका मूर्ति कुद्ने काम कार्यशालामा हुने छन् । यसका लागि पाँचदेखि १० टनसम्मका ठूला ढुङ्गा लगेर राखिएको छ । ती ढुङ्गालाई तलमाथि चलाउनका लागि डोजरको प्रयोग गरिनेछ ।  मूर्तिका लागि कलाकारबाट विषय छनोट गरिसकिएको हो ।

कलाकारले  मूर्ति कुद्ने ढुङ्गामा त्यही देशको झण्डासमेत राखिएको छ । उनीहरुले दुई सातासम्म त्यही बसेर मूर्ति कुद्ने छन् । यसरी कुँदिएको मूर्तिलाई रक गार्डेनका रुपमा विकास गरिनेछ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएको घुम्टे जाने बाटैमा पर्ने भएकाले टेउवा आर्कषक विश्रामस्थल पनि हुनेछ ।