सोमबार
२४ चैत
२०७६

संसदका पूर्वसभामुख र उपसभामुखको संयोग, तुम्बाहाङ्फे मन्त्री, महरा जेलको बास

सोमबार फाल्गुण ५, २०७६/ Monday 02-17-20

काठमाडौं । नेपाली राजनीतिमा सोमबार एउटा विचित्रको संयोग देखिएको छ । त्यो के भने प्रतिनिधिसभाका पूर्वसभामुख र उपसभामुख एकैदिन फरकफरक राजनीतिक मोडमा उभिएका छन् ।


पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री नियुक्त भएकी छन् । पूर्वसभामुख कृष्णबहादुर महरा भने जेलको बासबाट मुक्त हुने पर्खाइमा छन् । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेका पूर्वसभामुख महराको मुद्दाको फैसला आज आउने भएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार बहस सकिए पनि फैसला लेख्न समय अभाव भएको भन्दै फैसला आजका लागि सारेको थियो । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले महराको मुद्दामा फैसला सुनाउँदैछ । फैसला सुन्न महरा अदालत पुगिसकेका छन् । 

महरा र तुम्बाहाङ्फे एउटै संसद्का सभामुख र उपसभामुख थिए । महराकाण्डले तुम्बाहाङ्फेले समेत उपसभामुखको पदबाट हात धुनुपरेको थियो । विगतमा प्रतिनिधिसभाका उपसभामुख रहेका नेताहरू अहिले को कहाँ के गर्दैछन् ? अत्तोपत्तो छैन । तर, तुम्बाहाङ्फेले भने दुई वर्षभित्रै महत्वपूर्ण राजनीतिक सफलता हासिल गरेकी छन् ।

उनी उपसभामुख, मन्त्री र नेकपाको केन्द्रीय सदस्य बन्न सफल भएकी छन् । आगामी दिनमा तुम्बाहाङ्फेको राजनीतिक भविष्य सुन्दर देखिएको छ भने महराले राजनीतिक स्थान गुमाउँदै गएका छन् । हाल निलम्बित सांसद भए पनि पार्टी राजनीति गर्न र चुनाव लड्न महरालाई निकै कठिन हुने देखिएको छ । यदि सोमबार बलात्कार मुद्दाबाट सफाइ पाए भने महराको सांसद पद कायमै रहनेछ । तर, दोषी ठहर भएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

यो भिडियो हेर्नुहोस: प्रधानमन्त्रीको गुनासो: खाली बासुंरी बजाएको मात्र देख्छन् काम गरेको देख्दैनन् (भिडियो)