मंगलबार
२५ चैत
२०७६

निफमा ‘बुलबुल’ र ‘गोपी’ को वर्चश्व उत्कृष्ट, क–कसले पाए अवार्ड ?

मंगलबार फाल्गुण ६, २०७६/ Tuesday 02-18-20

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सोमबार सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको महोत्सवमा विनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’ले डबल हयाट्रिक गरेको छ ।


बुलबुलले नेपाल पनोरमाको फिचरतर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जितेको हो । फिल्मबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जितेका थिए भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री तर्फको अवार्ड जितेकी थिइन् । जुरी अवार्ड अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुषाल र लक्ष्मी बर्देवाले जितेका थिए ।

बुलबुललाई पछ्याउँदै ‘गोपी’ले तीन अवार्ड हात पारेको थियो । समारोहमा ‘गोपी’ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने फिल्मबाट बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । छायाँकार शेलेन्द्र डि कार्कीको छायांकनलाई पनि प्रकाश झा मुख्य निर्णायक रहेको जुरीले उत्कृष्ट ठानेको थियो ।

नेपाली सर्ट फिल्म तर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित जुनुको जुत्ताले पाएको थियो भने इन्टरनेसनल सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले पाएको थियो । नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रविन कुमार राउत निर्देशित ‘कलम’ले जितेको थियो । प्रविन स्वयं पनि जुरीको नजरमा उत्कृष्ट ठहरिएका थिए । सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दि अदर हाफ’ले पाएको थियो ।

बहुपति प्रथाको कथा समेटिएको गणेश पायडे निर्देशित ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ठ ठहरिएको थियो । माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको थियो ।

यही वर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको स्प्रिट अफ दि ड्रइङ गर्ल’ले पायो । मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म नुरी उत्कृष्ट मानिएको थियो । फिल्ममा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा पेश गरिएको थियो । बाग्मति अवार्ड नाम दिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको छ । सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर जित्यो ।