मंगलबार
२५ चैत
२०७६

दोलखामा विद्यालय बनाउन भृकुटीमण्डपमा नेपथ्यको सांगीतिक कार्यक्रम

मंगलबार फाल्गुण ६, २०७६/ Tuesday 02-18-20

काठमाडौँ । चर्चित सांगीतिक समूह नेपथ्यले फागुन १७ गते काठमाडौँमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको छ । हेल्प नेपाल नेटवर्कसंगको सहकार्यमा “शिक्षाका लागि संगीत” नाम दिइएको सो कार्यक्रम भृकुटीमण्डप बगैंचामा आयोजना गरिने छ ।
सन् २०१५ मा आएको विध्वंशकारी भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माणमा सहयोग जुटाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको हेल्प नेपाल नेटवर्कले जनाएको छ ।


“सन् २०१५ यता हामीले  सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा मावि लगायत विभिन्न जिल्लाका विद्यालय भवनहरु पुनर्निर्माण गर्न सघाएक छौं । भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माण शुरु भै सकेको छ । सो पुनर्निर्माणको काम सम्पन्न गर्न सहयोग जुटाउन चर्चित   व्याण्ड नेपथ्यसंगको सहकार्यमा यो सांगीतिक साँझ आयोजना गर्न लागिएको हो,” हेल्प नेपाल नेटवर्क नेपाल शाखाका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक रोशेन्द्रध्वज खड्काले भने।

“पूर्वाधार राम्रो हुँदा बालबालिकाको पठन पाठनमा पनि राम्रो प्रभाव पर्छ। त्यसैले हामी अरु जिल्लाहरुका लागि पनि नमुना बन्न सक्ने गरी विद्यालयको पुनर्निर्माण कार्य अगाडी बढाइ रहेका छौं,” उनले थपे।
कार्यक्रममा चर्चित गायक अमृत गुरुङले प्रस्तुति दिनेछन् ।

अहिले टिकटको मूल्य ९०० राखिएको छ। कार्यक्रमको दिन भने टिकटको मूल्य प्रति व्यक्ति १२५० रुपैयाँ राखिएको छ । र्इसेवामा गएर कार्यक्रमको टिकट किन्न सकिन्छ ।

‘मातृभूमिक लागि महिनामा एक पाउन्ड वा एक डलर’ भन्ने आह्वान गर्दै २० वर्षअघि बेलायतमा नेटवर्क स्थापना गरिएको थियो। हेल्प नेपाल नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ।