सोमबार
२४ चैत
२०७६

चुनाव जितेको तीन वर्षपछि कोरोनाविरुद्ध सडकमा निस्के काठमाडौंका मेयर विद्यासुन्दर, त्यो पनि मास्क नलगाइकन

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन वर्ष हुनै लागेको छ । अबको दुई वर्षपछि हुने चुनावमार्फत नयाँ जनप्रतिनिधि चुनिएर आउने छन् । तीन वर्षको अवधिमा अहिलेसम्म ७५३ स्थानीय तहका एक दुई जनप्रतिनिधिबाहेक कसैले पनि उत्कृष्ट काम गरेको सुनिएको छैन ।


अझ काठमाडौं महानगरपालिका भनेको त देशकै राजधानी सहर । प्राकृतिक विपत्ति होस् या अन्य समस्याका बेला काठमाडौं महानगरका प्रमुखको भूमिका निकै ठूलो हुने गर्छ । त्यसमा पनि चुनावअघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले १०१ बँुदे घोषणापत्र सार्वजनिक गर्दै काठमाडौं महानगरलाई आधुनिक बनाउने प्रतिबद्धता जनाएका थिए । तर, निर्वाचन भएको तीन वर्षसम्म उनले एउटा पनि सम्झनलायक काम गरेका छैनन् ।

उनले जारी गरेको घोषणापत्रको एउटै काम पनि हुन नसकेपछि उनी अर्धभूमिगतकै अवस्थामा थिए । यतिबेला संसारभर कोरोनाभाइरसको महामारी छ । हरेक देशले आफूले सकेको काम गर्दै आएका छन् । नेपालले ढिलै भए पनि लकडाउन गरेर ठूलो क्षति हुनबाट रोक्ने प्रयास गरेको छ ।

तर काठमाडांंै महानगरका प्रमुश शाक्य भने यत्रो दिनसम्म गुमनाम जस्तै थिए । उनी बुधबार एउटा टेलिभिजन स्क्रिनमार्फत प्रकट भएका थिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन महानगरले सहरका प्रमुख सडकमा स्यानिटाइजर छर्किने जानकारी गराउन उनी टेलिभिजनको सहारा लिन बाध्य भएका छन् ।

बुधबार उनी काठमाडौंका सडकमा केही समय निस्केका थिए । त्यसबेला उनी उपप्रमुख हरिप्रभा खड्गीका साथमा देखिएका थिए । तर, मिडियालाई अन्तर्वार्ता दिँदा शाक्यको मुखमा मास्क थिएन । एउटा जनप्रतिनिधिले आफूले कसरी महामारी न्यूनीकरणमा प्रयास गर्दै छ भन्ने जनताले हेरिरहेका हुन्छन् । 

यस्तो बेलामा पनि महानगर प्रमुख शाक्य जिम्मेवार बन्न नसकेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना हुन थालेको छ । कतिले त सामाजिक सञ्जालमा उनलाई दुर्इ वर्षसम्म सेल्फ क्वारेन्टाइन बसेकाले अहिले सेल्फ क्वारेन्टाइनको अनुभव सुनाउन सडकमा निस्केको भनेर समेत उनको आलोचना गरेका छन् ।