शनिबार
१७ जेठ
२०७७

कोरोना महामारीमा डा. गोविन्द केसीको खोजी, हिजो अनसन बस्दा केसीलाई ललकार्ने डाक्टर कता लुके ?

मंगलबार चैत १८, २०७६/ Tuesday 03-31-20

काठमाडौं । मुलुकमा कोरानाभाइरसले महामारीको रुप लिने संकेत देखिएपछि यतिबेला डा. गोविन्द केसीको खोजी सुरु भएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको विकृति विसंगति हटाउन र सरकारी अस्पताललाई सुविधायुक्त बनाउन भन्दै डा. केसी १६औं पटकसम्म आमरण अनशन बसेका थिए । 

केसी अनसन बसेपछि निजी अस्पतालका चिकित्सकहरुले उनलाई देखी सहेनन् । त्यति मात्रै होइन, केसीलाई ललकार्न एक हुल डाक्टरले माइतीघरदेखि बानेश्वरसम्म मार्च पास गरेका थिए । उनको अनसनलाई असफल पार्न, केसीले राखेका माग वाहियात भएको भन्दै उनलाई गलाउने कामको नेतृत्व अहिलेका पर्यटनमन्त्री योगेश भट्टराईले लिएका थिए । 

यतिबेला चिकित्सा प्रविधिले सम्पन्न अमेरिका, जर्मनी, इटाली, फ्रान्स, बेलायतले समेत कोरोनाबाट हार मान्नुपर्ने अवस्था आइसकेको छ । नेपाल पनि यसको चपेटामा पर्न सक्ने विशव स्वास्थ्य संगठनले चेतावनी दिएको छ । यस्तो अवस्थामा सरकारको एक्लो प्रयत्नले मात्र कोरोनाको जोखिम हटाउन सम्भव छैन । निजी अस्पताल र चिकित्सकहरुको पनि उत्तिकै साथ र समर्पण आवश्यक पर्छ । तर, अहिले निजी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले कोरोनाका आशंकित विरामीलाई उपचार त टाढाको कुरा, छुनसमेत चाहेका छैनन् ।

यतिवेला ती कहाँ कुन सुरक्षित जग्गामा होलान् ? उतिवेला तिनले डा. केसीलाई अपराधी करार गर्न सरकारको काँध थापेका थिए । तर यतिवेला त सरकारको काँधमा कोही देखिन्न । देशभर नै यस्तो स्थिति देखिएपछि अहिले डा. गोविन्द केसीको खोजी सुरु भएको हो । उनले राखेका र उठाएका माग जायज भएको फेरि पनि पुष्टि भएको छ ।

डा. केसी भने तीन साताअघिदेखि स्वास्थ्य सेवा दिन डडेलधुरा अस्पताल पुगेका छन्। केसी डडेलधुरा पुगेर काम गरेपछि त्यहाँको वातावरणमा फरकपन आएको त्यहॉका चिकित्सक, बिरामी र उनीहरुका आफन्तहरुले बताउन थालेका छन्। त्यहाँका दुई चिकित्सक विरामीको उपचार गर्न छाडेर भागेपछि केसी डडेल्धुरा पुगेका हुन् ।

केसी असाधारण मानवीय भावना भएका सच्चा डाक्टर हुन् । हालसम्म पनि अविवाहित केसी कोरोनाको आतंकबीच जनताको सेवा गर्न फिल्डमा खटिएका छन्, तर युवा चिकित्सकहरु भने डरले दुला पसेका छन् ।