शनिबार
१७ जेठ
२०७७

भारतबाट आएर बोर्डरमा रोकिएका सयौं गरिब नागरिकको वास्ता छैन, राष्ट्रपति भण्डारीलाई अमेरिकामा रहेका नेपालीको चिन्ता

बुधबार चैत १९, २०७६/ Wednesday 04-01-20

काठमाडौं । कोरोनाको त्रासले भारतका विभिन्न सहरमा रोजगारीमा रहेका १५ सय बढी नेपाली नागरिक अहिले बोर्डरमा आएर बसेका छन् । तिनलाई नेपालले आफ्नो देशमा समेत प्रवेश दिएन । उनीहरूका लागि आफ्नै मातृभूमि बिरानो बनेको छ ।

नेपाली कांग्रेसका सभापति, पूर्वराना ज्ञानेन्द्र शाहलगायत केही बुद्धिजीवी र मिडियाले बोर्डरमा रहेका नेपाली नागरिकलाई आफ्नो देशमा ल्याएर सरकारले १४ दिन क्वारेन्टाइनमा राख्न सुझाव दिएका छन् । तर, सरकारले लाचारी प्रस्तुत गरेको छ । उनीहरुलाई नेपाल ल्याउन नसक्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्पष्ट बताएका छन् । अहिले उनीहरु भारतले उपलब्ध गराइदिएको क्वारेन्टाइनमा बसेका छन् ।

सरकारले आफ्नो देशका नागरिकलाई अनागरिक बन्न नदिनुपर्ने हो । संविधानमै नागरिकबारे राज्यको भूमिका के हुने उल्लेख गरेको छ । तर, सत्तारुढ दल नेकपा र सरकारमा रहेकाहरु आँखा चिम्लेर बसेका छन् ।

त्यति मात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारीसमेत मौन छिन् । उनी राष्ट्रप्रमुख हुन् । सम्पूर्ण नागरिकको अभिभावक पनि हुन् । तर, भारतको बोर्डरमा आएर बसेका आफ्ना देशका नागरिकबारे राष्ट्रपति बेखबर छिन् । उनलाई गरिब र दुःखी नेपालीको पीडाले छुन सकेको छैन । कोरोनाको उच्च संक्रमणमा उनीहरू छन् । 

तर, राष्ट्रपति भण्डारीलाई अमेरिकामा रहेका नेपाली नागरिकको अवस्थाले चिन्तित तुल्याएको छ । उनले मंगलबार अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीलाई टेलिफोन गरी नेपाली नागरिकको अवस्थाबारे चासो राखेकी थिइन् । अमेरिका आफैंमा वैभवशाली देश हो । त्यस्तो देशमा रहेका नागरिक निश्चय नै सुरक्षित रहेका हुन्छन् । अमेरिकामा रहेका नेपालीलाई आफ्नै देशका नागरिकबारे बढी चिन्ता छ ।

तर, राष्ट्रपतिले आफ्नै देशको बोर्डरमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीको पीडाले छोएन । राज्यले पनि नागरिकको वर्ग हेर्दो रहेछ भन्ने कुरा राष्ट्रपतिको भूमिकाले देखाएको छ । कम्तीमा पनि राष्ट्रपतिले आफ्नै देशको नजिक र देशभित्रका नागरिकबारे पहिले सोच्ने हो । उनको यस्तै कार्यशैलीका कारण अहिले सामाजिक सञ्जालमा राष्ट्रपतिको आलोचना गर्न थालिएको छ ।