सोमबार
२७ असोज
२०७६

एनआरएनए महाधिवेशन : कोषाध्यक्षमा महेशकुमार श्रेष्ठद्वारा उम्मेदवारी घोषणा

बिहीबार असोज १६, २०७६/ Thursday 10-03-19

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न नवौं महाधिवेशनमा जापानका व्यवसायी महेशकुमार श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।  काठमाडौंमा यही असोज २८ गतेबाट सुरु हुने एनआरएनएको नवौँ महाधिवेशनम श्रेष्ठले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

आफूलाई सहयोग गरी कोषाध्यक्ष पदमा निर्वाचित गराउन सबै एनआरएनहरुमा अपिल गरेका श्रेष्ठ लामो समयदेखि एनआरएन अभियानमा जोडिँदै आएका छन् ।  नेपालको समृद्धिमा योगदान दिन चाहेको बताएका श्रेष्ठले   रेमिट्यान्स, रेष्टुरेन्ट, हाइड्रो, बैकिङ, आधुनिक कृषि, ट्राभल, आइटी, इन्स्युरेन्स, आयात निर्यात, भौतिक पूर्वाधार लगायतका व्यवसायिक क्षेत्रमा संलग्न रही मुलुकमा लगानी भित्र्याउँदै आएका छन् । 

एनआरएन अभियानमा कोषाध्यक्षको दावी गर्दै गैर आवासीय श्रमिक कल्याण कोष र आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जबाफदेहितालाई मुख्य मुद्दाकारुपमा अगाडि सारेका एनआरएनए आइसीसी सदस्य समेत रहेका श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘गैर आवासीय श्रमिक कल्याण कोष’ को स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड जम्मा गर्दै जाने ठोस योजना सहित ’मितव्ययिता र पारदर्शिता, आजको आवश्यकता’ भन्ने मूल नारा लिएर गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्वलाई जोड दिँदै संघको नवौं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु ।’