आइतबार
१८ जेठ
२०७७

कोरोनाभाइरस मान्छेबाट मान्छेमा मात्र होइन, जनावरमा पनि सर्न थाल्यो, जसले निम्त्याउँदैछ ठूलो संकट

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं । कोरोनाभाइरस सुरुमा जनावरबाट मान्छेमा सरेको र पछि मान्छेबाट मान्छेमा सजिलै सर्दै गएको चिकित्सकहरुले बताउँदै आएका थिए । तर, पछिल्लो समय घरमा पालिएको कुकुर र बिरालो मात्र होइन, चिडियाखानामा रहेको बाघमा पनि कोरोनाको संक्रमण देखिएपछि यसले नयाँ चिन्ता उब्जाएको छ । किनभने मान्छेबाट जनावरमा यदि कोरोना सरेको हो भने संसारका धेरै जनावर मर्ने सम्भावना रहन्छ ।

विश्वका दुई सय बढी देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म करिब १३ लाख संक्रमित भइसकेका छन् । मृत्यु हुनेको संख्या मात्रै ६४ हजार नाघेको छ । कोरोनाबाट मान्छे मात्र होइन, कुकुर पनि मरिसकेको घटना हङकङबाट पुष्टि भएको छ । त्यसैले अब जनावरमा कोरोना देखिनु मानव जातिका लागि अर्को संकट हो । 

अमेरिकाको न्यूयोर्कस्थित ब्रोंक्स चिडियाखानामा रहेको चार वर्षको पोथी बाघ कोरोना भाइरसबाट सङ्क्रमित पाइएको हो । अयोवास्थित नेशनल भेटनरी सर्भिस ल्याबमा गरिएको परीक्षणमा उक्त बाघमा कोरोना पोजेटिभ पाइएको ब्रोंक्स चिडियाखानाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बताइए अनुसार नादिया नाम दिइएको उक्त बघिनीकी बहिनी र अन्य दुई बाघका साथै तीन अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको छ । सो चिडियाखानाकै कुनै कर्मचारीबाट सङ्क्रमण ती जनावरसम्म पुगेको अनुमान गरिएको छ ।

यसले के देखाउँछ भने अब कोरोना संक्रमित मानिस जनावर नजिक जानु भएन । यदि घरमै पालिएको जनावरमा सरे त केही हुन्न, तर जंगलमा रहेका जनावरमा मानिसबाट सरेको छ भने त्यसले ठूलो विनाश निम्त्याउने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।