आइतबार
१८ जेठ
२०७७

आज बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने, सिफारिसमा परेका शिवाकोटी र खनाललाई महाप्रसाद अधिकारी भारी

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं । सरकारले तीन सातादेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने तयारी गरेको छ । सोमबार (आज) अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने प्रबल सम्भावना छ ।

अर्थमन्त्री डा.युवराज खतिवडा संयोजकत्वको सिफारिस समितिले राष्ट्र बैंकको गभर्नरमा तीनजनाको नाम सिफारिस गरेको छ । जसमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी तथा पूर्वअर्थसचिव डा. राजन खनाल छन् । सिफारिसमा पर्ने तीनैजना प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री खतिवडा निकट मात्रै परेका छन् । समितिले सिफारिस गरेका तीनैजना ब्युरोक्रेट्स पृष्ठभूमिका हुन् ।

स्रोतका अनुसार गभर्नरको दौडमा अधिकारी खनाल र शिवाकोटीभन्दा अगाडि छन् । उनी यसअघि पनि गभर्नरका दाबेदार थिए । त्यसबेला कांग्रेस सरकारले डा.चिरञ्जीवी नेपाललाई गभर्नर नियुक्त गरेको थियो । अधिकारी पूर्वएमाले निकट कर्मचारी हुन् । त्यसमा पनि उनको सम्बन्ध प्रधानमन्त्री ओलीदेखि अहिलेका अर्थमन्त्री खतिवडासँग निकै राम्रो रहेको बताइन्छ । शिवाकोटी बहालवाला डेपुटी गभर्नर भए पनि अधिकारीको जति चलखेल गर्न उनले सकेका छैनन् ।

खनाल भने हालै अर्थसचिवबाट अवकाश पाएका हुन् । खतिवडा संयोजकत्वको सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए । सदस्यद्वय भट्टराई र बास्कोटाको अधिकारीसँग राम्रो सम्बन्ध छ ।