सोमबार
२७ असोज
२०७६

गम्भीर आरोपपछि पनि महराले सांसद पद छाड्न चाहेनन्, दाङ २ मा उम्मेदवार खोज्दै नेकपा

शुक्रबार असोज १७, २०७६/ Friday 10-04-19

काठमाडौं । महिलामाथि यौनहिंसाको आरोप लागेका कृष्णबहादुर महरालाई सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । पार्टीको निर्देशनलगत्तै उनले सभामुखबाट राजीनामा पनि गरे । तर, पाँच दिन बितिसक्दा पनि उनले सांसद पद छाडेका छैनन् ।  संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीलाई यौनदुव्र्यवहारको आरोप लागेपछि पार्टीकै दबाबमा सभामुखबाट राजीनामा दिएका महरा सांसद पदमा भने बसिरहन खोजेको देखिन्छ । पार्टीले भने पनि उनले अटेरी गरिरहनुको कारण पनि त्यही बुझिन्छ ।

महराले सुरूमा सभामुखबाट राजीनामा दिँदा पनि अन्तरिम प्रकृतिको राजीनामा दिए, जसमा छानबिन प्रक्रिया नसकिएसम्मका लागि भन्ने सर्त थियो । पार्टी नेतृत्वकै दबाबमा उनले बुधबार निःसर्त राजीनामा दिएपछि संसद् सचिवालयले सभामुख पद रिक्त रहेको सूचना प्रकाशिक गर्‍यो । सांसद पदमा बस्ने नैतिकता समेत महराले गुमाइसकेको भन्दै राजीनामा दिन पार्टीबाट तीब्र दबाब भए पनि महरा मान्न तयार भएका छैनन् । यसले एकातिर पार्टी अनुशासन र निर्देशनको उल्लंघन भएको छ भने अर्कोतिर पदमै रहिरहँदा अनुसन्धान प्रक्रिया नै प्रभावित हुन सक्ने नेताहरूको ठम्याइँ छ ।

त्यसैले नेकपाकै नेताहरु महराले सांसद पदबाट पनि तुरुन्त राजीनामा दिनुपर्ने पक्षमा छन् ।खासगरी पूर्वएमाले पक्षीय नेताहरू महरालाई पार्टीको सबै जिम्मेवारीबाट हटाउन दबाब दिइरहेका छन् । तर, पूर्वमाओवादी पक्षले महरालाई अझै संरक्षण गर्न खोजिरहेको देखिन्छ ।

पटक पटक उच्च पद धारण गरेका महरा यस प्रकरणलाई कानुनी प्रक्रियामा प्रवेश नै गर्न नदिएर राजनीतिक रूपमै सामसुम पार्ने प्रयासमा रहेको देखिन्छ । यसमा उनी सफल भएमा फेरि पनि शक्तिशाली पदमा पुग्न सक्नेछन् । यही कारण प्रहरी पनि यसमा प्रवेश गर्न हिच्किचाएको देखिन्छ । तर, नेकपाले भने संस्थागत रूपमै महरालाई सांसद नमान्ने बताइसकेकाले ऊ दाङ २ मा नयाँ उम्मेदवार खोज्ने अभियानमा लागेको देखिन्छ ।कास्की २ मा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । यदि महराले सांसद पदबाट राजीनामा दिए दाङ २ मा पनि उपनिर्वाचन गराउनुपर्ने हुन्छ । कास्की २ मा उम्मेदवार नबन्ने घोषणा गरिसकेका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई दाङ २ मा उम्मेदवार बनाउनुपर्ने आवाज जोडदार रूपमा उठ्दै गएको छ ।