सोमबार
२७ असोज
२०७६

सी २५ गते नेपाल आउने , स्वागत राष्ट्रपतिले गर्ने

शुक्रबार असोज १७, २०७६/ Friday 10-04-19

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको मिति तय भएको छ । असोज २५ गते भारतको चेन्नइबाट नेपाल आउने तालिका रहेको छ र सीको स्वागत राष्ट्रपतिले गर्ने टुंगो लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्नेछिन । 

भारतको शहर ममल्लिपुरममा असोज २४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीको स्वागत गर्दैछन् । सी र मोदीको भेटवार्ता २४ गते हुनेछ भने सी २५ गते नेपाल आउने छन् र एक रात नेपाल मै बस्नेछन । परराष्ट्र मन्त्रालयका श्रोतका अनुसार असोज २५ र २६ गते सीले नेपाल भ्रमण गर्नेछन । नेपालको आग्रह पछि सीले एक रात नेपालमा बस्ने निधो गरेको पनि परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । यस अघि सीले ८-९ घण्टाको लागि मात्र नेपालमा रहने कुरा चल्दै आएको थियो तर नेपालको आग्रह पछि सीले एक रात नेपालमा बस्ने निधो गरेका छन् । सी चेन्नइ विमानस्थलबाट सिधै नेपाल आउने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताएका छन् । विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट गरे ।