सोमबार
२७ असोज
२०७६

टन्न पैसा लिएर आउने लाहुरे देखेर सुन्दरी मुख मिठ्याउँछन्

शुक्रबार असोज १७, २०७६/ Friday 10-04-19

काँधमा टेप रेकर्डर बजाउँदै लाहुरे टन्न पैसा लिएर आउँछ । गाउँमा सुन्दरी मुख मिठ्याउँछन्, अनि आसेपासेहरु चाकडीमा हाजिर जनाउँछन् । लाहुरेका काका–काकी, मामा–माइजु, टोल छरछिमेकी हरेकको आ–आफ्नै दाउ छ, लाहुरेलाई आफ्नो बनाउने । लाहुरेलाई छोरी दिन पाउने बाबुआमाको चुरीफुरी नै बेग्लै हुन्छ । लाहुरे जस्तै रंगको होस्– कालो, गोरो वा होचो, मोटो, दुब्लो, चाहे जस्तो सुकै होस् लाहुरे हुनु नै सबैभन्दा ठूलो उत्कृष्टता हुन्छ, सुन्दरीको श्रीमान् बन्न । ‘छोरा जन्मे लाहुरे बनेस्, छोरी जन्मे लाहुरेसँग विवाह भएस्’ यही छ मुख्य आशिर्वाद, लाहुरे मोह भएकाहरुमा । तर, यही लाहुरेको भित्री पीडा कसले बुझेको छ र, आकर्षणमा सिमित लाहुरेको परिवेश, न राज्यले नै बुझेको छ, न त अरु नेपालीले नै । विश्व साम्राज्यको एक्लो मालिक बन्ने यात्रामा प्रमुख सहयात्री थिए, नेपाली युवा जनजातिहरु । अचम्म लाग्छ, विश्वलाई जित्ने बेलायतलाई जिताउने गोर्खालीहरुलाई जुन सम्झौता गरेर तत्कालीन राणा सरकारबाट नेपाली युवाहरुलाई युद्धमा होमिएको थियो, तिनै गोर्खालीहरु ३० वर्षदेखि बेलायती–गोर्खाली विभेदको आन्दोलन गरिरहनु परेको छ । वेलायती नागरिक जो सेनामा छन् या निवृत्त भए, उनीहरुले पाउने सेवा सुविधासरह सँगै, उत्तिकै काम गरेका गोर्खालीले माग राखेर तीन दशकदेखि संघर्ष गरिरहनुपरेको छ ।

पहिलो तथा दोस्रो विश्वयुद्ध लगायत मलेसिया वा अर्जेन्टिना युद्ध, टर्कीको ग्यालिपोली यस्ता कुन युद्ध छैन, जहाँ गोर्खालीले वेलायती साम्राज्यका लागि नलडेको होस् । पाँच लाख गोर्खालीले ज्यान गुमाए, कसका लागि ? कसको आज्ञामा ? अहिले न वेलायत, न नेपाल, कोही पनि ती गोर्खालीको कुरा सुन्नै चाहँदैनन् । यिनै भूपू गोर्खालीको साझा मोर्चा गोर्खा सत्याग्रह संघर्ष समितिले गत सन् २०१३ देखि आमरण अनसनबाट सुरु गरेको आन्दोलन अब फेरि एकपटक राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विश्व सम्मेलनमार्फत संसारभर आफ्नो मागबारे ध्यानाकर्षण गराउँदै छ । पूर्व महान्यायाधिवक्ता तथा प्राध्यापक डा युवराज संग्रौला पुनः एकपटक गोर्खालीसँग जोडेर आन्दोलनलाई विश्वव्यापी बनाउँदैछन् । हुन त हिजो आन्दोलनको सुरुवाती दिनमा वौद्धिक तहबाट उनै संग्रौलाले गोर्खालीको आन्दोलनलाई संसारभर पु¥याएका थिए । यही आउँदो नोभेम्बर ४ र ५ मा काठमाडौंमा विश्व सम्मेलन हुँदैछ । जसको नेतृत्व संग्रौलाले गर्नेछन् । 

विश्वभरबाट मानव अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार आउँदैछन् भने नेपालभित्रकै नेपाल बार एसोसिएसन, मानव अधिकारवादी संगठन, एनआरएनएलगायतको सहभागिता रहने यस विश्व सम्मेलनबाट वेलायतले नेपालसँग गरेको सम्झौतालाई कसरी बेवास्ता गरिरहेको छ र नेपालले पनि आफैंले गरेको सम्झौता कार्यान्वयनमा देखाएको उदासिनताकोबारेमा छलफल हुनेछ  र आगामी रणनीति तय गर्नेछ । सम्भवतः यो पहिलो विश्व सम्मेलन हो, गोर्खाली भर्तीकोबारे आयोजना हुने सम्मेलन । यसै सम्मेलनकाबारे जानकारी दिन आयोजित कार्यक्रममा समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए, ‘यो अन्तिम लडाइँ हो, वेलायत गलिसकेको छ, तर नेपाल सरकार चुइँक्क बोल्न चाहँदैन ।’

त्यसैगरी वरिष्ठ अधिवक्ता डा. संग्रौलाले भने, ‘यो लडाइँ केवल गोर्खा भर्तीमा जानेको मात्रै होइन, यो राष्ट्रिय प्रतिष्ठाको लडाइँ हो । यदी मात्रा तलब र भत्ताको लागि गरिएको आन्दोलन हो भने मेरो आवश्यकता थिएन, यो लडाइँ हो, देशकै स्वाधिनताको । जबसम्म बेलायतले नेपाल राष्ट्रमाथि गरेको विभेद अन्त्य हुन्न, तबसम्म यस आन्दोलनबाट बाहिरिने छैन । हामी कानुन व्यवसायीहरु, अधिकारवादीहरु, पेशागत संगठनहरुले साथ दिएको मौका छ । यदी यतिखेर वेलायतलाई झुकाउन सकिएन भने हाम्रो राष्ट्रियताले कसैलाई माफ गर्ने छैन।’

 

प्राध्यापक डाक्टर युबराज सङ्रौला भुतपुर्व बेलायती सेनाको साथमा । आब बिस्व सम्मेलन गरिने नोवेम्बर 4/5 काठमाडौमा।

Posted by CanadaNepal on Wednesday, October 2, 2019