शनिबार
७ मङ्सिर
२०७६

ऋणमा डुबेर चिनियाँ रेल बनाउन नहुने कांग्रेस नेताहरुको भनाई

बिहीबार असोज २३, २०७६/ Thursday 10-10-19

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई लगायतका सहभागी भएका थिए । उक्त छलफलमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ऋणमा डुबेर रेल नल्याउन सुझाव दिएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उक्त बैठकमा नेपाली कांग्रेसले ऋणमा डुबेर चीनबाट रेल ल्याउने विषय नउठाउन सरकारलाई सुझाब दिएको हो । बैठकमा नेपाली कांग्रेसका नेताले काठमाडौं केरुङ रेलमार्गमा धेरै लगानी चाहिने र यो नेपालले ऋण लिएर गर्न नसक्ने बताएका छन् । कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले भने नेपाल र चीनबीच जुन स्तरको व्यापार र आवात जावत छ, यसले वर्षौसम्म लगानी फिर्ता हुने सम्भवना छैन’, उनले भने, ‘यदि चीन र भारतले ब्यापारका लागि प्रयोग गरे मात्र यो रेल फिजिवल हुन्छ ।’चिनियाँ राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालमा राजकीय भ्रमण हुँदैछ ।