आइतबार
१ मङ्सिर
२०७६

चिनियाँ राष्ट्रपतिलाई नेपाली सेनाको भव्य स्वागत, नेपाल टेक्ने बित्तिकै सिको मन्द मुस्कान (भिडियो)

शनिबार असोज २५, २०७६/ Saturday 10-12-19

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा रहेका छन् । शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर चाइनाको विमानबाट अवतरण गरेका सीलाई नेपाल समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषदका सदस्यहरु, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना तथा विशिष्ट व्यक्तिहरु विमानस्थल पुगेका थिए । सीको सम्मान र स्वागतका लागि २१ तोपको सलामीसहित नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गरिएको थियो । पञ्चकन्यादेखि विभिन्न भेषभूषामा सजिएर सीको स्वागत गरिएको छ । 


मन्द मुस्कानसहित विमानबाट ओर्लिएका राष्ट्रपति सीको स्वागतका लागि काठमाडौंको सडक बेहुलीझैँ सिंगारिएका छन् । विमानस्थलदेखि सोल्टी होटेलसम्म उनको सवारी गराइएको थियो भने होटेलमा केहीबेरको आरामपछि राष्ट्रपति भवन शीतल निवास पुगेर सीले नेपाल समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । शीतल निवासबाट फेरि उनी सोल्टी होटेल फर्केका छन् । त्यहाँ सीको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गरेकी छन् । सोही समयमा उच्चस्तरीय भेटवार्ता हुनेछ । प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछन् ।