आइतबार
१ मङ्सिर
२०७६

सी भ्रमणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा गुमेको साखलाई उठाउन मद्दत गरेको छ : रवीन्द्र मिश्र

सोमबार असोज २७, २०७६/ Monday 10-14-19

काठमाडौं । साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा गुमेको साखलाई उठाउन मद्दत गरेको टिप्पणी गरेका छन् ।

सी स्वदेश फर्केको भोलिपल्ट सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘भूजडित अब नेपाली भूराजनीतिको अभिन्न अवधारणा’ शीर्षकमा लामो स्टाटस राख्दै मिश्रले सीको नेपाल भ्रमण सफल भएको बताएका हुन् ।
यसअघि मिश्रले चिनियाँ ऋण लिन नहुने भन्दै विरोध जनाउँदै आएका थिए । चीनबाट लिइएको ऋणले नेपाल सदाका लागि थला पर्ने उनको दाबी थियो ।

नेता मिश्रले चीनले नेपाललाई विकास र समृद्धिको ‘रणनीतिक साझेदार’ का रूपमा उल्लेख गर्दै त्यसैअनुरूपका कदमहरू चालेर नेपालका लागि चीन मात्र होइन, चीनका लागि नेपाल पनि त्यत्तिकै महत्वपूर्ण छ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गरेका छन् ।

यस्तो छ मिश्रको टिप्पणी

१. चिनियाँ राष्ट्रपति सीको भ्रमण र भएका समझदारी र संझौताहरूले धेरै लामो समयदेखि नेपालको अन्तराष्ट्रिय संवन्धमा गुमेको साखलाई उठाउन मद्दत गरेको छ।

२. सीद्वारा प्रयुक्त ‘भूजडित’ शब्द नेपाली कुटनीतिमा फाट्टफुट्ट प्रयोग हुने गरेको थियो । अब यो नेपालको भूराजनीतिको अभिन्न अवधारणा बन्नेछ।

३. चीनले नेपाललाई विकास र समृद्धिको ‘रणनीतिक साझेदार’ का रूपमा उल्लेख गर्दै त्यसै अनुरूपका कदमहरू चालेर नेपालका लागि चीन मात्र होइन, चीनका लागि नेपाल पनि त्यत्तिकै महत्वपूर्ण छ भन्ने स्पष्ट सन्देश दिएको छ । यो बदलिँदो विश्व राजनीतिको परिणाम हो।

४. यो भ्रमण र समझदारीरसंझौताप्रति केही राष्ट्रहरूले विस्तारै देखिनेरनदेखिने गरि विविध शैलीमा प्रतिकृया जनाउने छन्। त्यो हाम्रालागि अर्थपूर्ण हुनेछ। त्यसलाई ह्याण्डल गर्न कुटनीतिक दक्षताको आवश्यकता पर्छ।

५. वाचा गरिएका प्रतिवद्धता विरलै पुरा हुने विगत भएको परिप्रेक्षमा “वाचा गरेका प्रतिवद्धता पुरा गर्नैपर्ने“ अडानले नेपाली पक्षलाई आश्वस्त पारेको हुनु पर्छ। तर त्यो नेपालको काम गराईको शैलीमाथिको कुटनीतिक टिप्पणी पनि हो।

६. गरिएका वाचा पुरा गर्न नेपालले निरन्तर लागि पर्नु पर्छ र काम शुरू भएपछि वातावरण अुनकूल बनाइदिनु पर्छ। ठेकदारहरू काम छोडेर भागेको स्थिति हामीले बारम्बार बेहोरेका छौँ। नेपाल त हो भनेर गुणस्तरमा संझौता गरेको पनि देखेका छौँ।

७. चिनियाँ राष्ट्रपतिको भ्रमणको परिप्रेक्षमा हाम्रा लागि महत्वपूर्ण अन्य केही राष्ट्रका कार्यकारी प्रमुखहरूको भ्रमणका लागि पहल गर्न अहिले उचित समय छ।

८. नेपालको राजनीतिक र प्रशासनिक तहमा सुशासन र छिटोरछरितो दक्षतापूर्ण काम गराईका लागि आमूल परिवर्तनकारी कदमहरू नउठाउने हो भने बदलिएको भूराजनीतिबाट हामीले फाइदा उठाउन सक्दैनौँ।

९. हामी चुक्यौँ भने हाम्रो राष्ट्रिय स्वार्थका लागि अरूले काँध थापिदिने छैनन्। उनीहरूकै स्वार्थ प्रधान हुनेछ, जसको चेपुवामा हामी पर्नेछौँ।

१०. यो ऐतिहासिक भ्रमणको तयारी गर्ने र सफल बनाउने सबै धन्यवादका पात्र हुनुहुन्छ।