आइतबार
१ मङ्सिर
२०७६

चलचित्र ‘बादशाह जुट’को विरोधपछि निर्देशक रानाले भने, ‘इस्लाम धर्मलाई गलत देखाउने ’सिन’ छैन’

सोमबार असोज २७, २०७६/ Monday 10-14-19

काठमाडौं । प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्र ‘बादशाह जुट’को विरोध भएपछि यस चलचित्रका निर्देशक जोह्नी सिङ रानाले ‘बादशाह जुट’ले कुनै पनि धर्म र समुदायलाई गलत देखाउने दृश्य नरहेको प्रष्टिकरण दिएका छन् । आउँदो कात्तिक १ गतेबाट प्रदर्शनमा आउन लागेको सो चलचित्र कुनै धर्म जातजाति र मजहबलाई छेडछानी गर्ने गरि निर्माण नभएको बताउँदै उनले इस्लाम धर्मलाई गलत देखाउने कुनै पनि दृश्य नरहेको स्पष्ट पारेका हुन् । 

चलचित्र बादशाह जुटको ट्रेलर बिशेष बनाउने क्रममा पावरफूल शब्द ’अल्लाह र अजान’ प्रयोग गरे पनि यसले मुस्लिम समुदायलाई कुनै चोट पुग्ने गरि नराखिएको प्रष्टिकरण दिएका उनले भने,  अजान लगत्तैको सिन र सम्वादप्रति विपरित बुझाई हुन पुगेको हो ।’ 

ट्रेलरलाई हेरेर मात्र आएका नकारात्मक प्रतिकृया पुरै चलचित्र हेरेपछि नआउने दाबी गरेका उनले भने,  ‘सबै धर्मलाई मेरो सम्मान उत्तिकै छ, फिल्म पनि ईश्वरको नामले नै सुरु हुनुपर्छ भनेर मैले ’अल्लाह र अजान’ रोजेको हुँ, तर ट्रेलरमा अजान पछिको सिनले गलत बुझाई हुन पुग्यो ।’ 

मुस्लिम समुदायका अगुवाहरुसँग ट्रेलरमा देखाइएको दृश्य र चलचित्रको वास्तविकताबारे स्पष्ट पारिसकेको जानकारी दिएका उनले ट्रेलरमा सकेको जति सच्याउने प्रतिबद्धतासमेत जनाएका छन्।