• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

कोरोना महामारीका कारण कोरियामा गुम्यो पाँच लाखको रोजगारी, नेपाली पनि प्रभावित

जेठ १ २०७७
  • 2.2K
    SHARES
  • कोरोना महामारीका कारण कोरियामा गुम्यो पाँच लाखको रोजगारी, नेपाली पनि प्रभावित

    सउल - कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्कानुसार गत महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । यो सङ्ख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो ।

    यसरि रोजगारी गुमाउनेमा अधिकांश अस्थायी तथा पार्टटाइम कामदार छन् । प्रायः सबै क्षेत्रमा यसको प्रभाव देखिए पनि विशेषगरी होलसेल तथा खुद्रा व्यवसाय, होटेल, पर्यटन, कृषि प्याकिङ तथा प्याकेजिङ, शिक्षा सेवा, मनोरञ्जन सेवालगायत क्षेत्र अत्याधिक प्रभावित देखिएका छन् । उक्त स्थानमा सामाजिक दूरी तथा सेवा क्षेत्र हेरेर जोखिमयुक्त क्षेत्रमा लगाइएका लकडाउनका कारण रोजगारी गुमेको हो । विभिन्न व्यावसायिक कम्पनीमा कामदारको माग न्यून हुन थालेपछि गत महिना मात्र उक्त संख्यामा रोजगारी गुमेको हो ।

    यसका साथै उत्पादनमूलक क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ । दैनिक आठदेखि १६ घण्टाभन्दा बढी काम हुने अधिकांश उत्पादनमूलक क्षेत्रमा पनि घटेर दैनिक आठ घण्टा मात्र काम हुने वा कम्पनीले सूचना टाँस गरी बेतलबी बिदा दिने वा वार्षिक रुपमा प्राप्त हुने तलबी बिदा घट्ने गरी बिदामा बस्न लगाउने क्रम बढेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालीलाई पनि परेको छ ।

    विशेषगरी आफ्नै देशमै खपत हुने उत्पादनको निर्यातमा सामान्य गिरावट आए पनि पनि बाह्य निर्यात हुने सामग्रीमा भारी गिरावटका कारण काम घट्ने क्रम बढेको हुन सक्ने अनुमान गरिएको छ ।  दक्षिण कोरियाले अधिकांश उत्पादन विदेश निर्यात गर्छ । तथ्याङ्कानुसार रोजगारी गुमाउनेमा विशेषगरी १५ देखि २९ वर्ष उमेर समूहका युवा छन् । उनीहरूको संख्या कुल गुमेको रोजगारी संख्यामध्ये ४०.९ प्रतिशत अर्थात् दुई लाख ४५ हजार छ । 

    सबैभन्दा धेरै दुई लाख १२ हजार बढि रोजगारी होटेल तथा रेस्टुरेन्ट व्यावसायमा गुमेको छ ।  सरकारले भने न्यून आय भएका जनताको निम्ति केही हप्तामै साढे पाँच लाखभन्द्या बढी नयाँ रोजगारी सिर्जना गर्ने बताएको छ ।रासस
     


    जेठ १, २०७७ बिहिवार ०७:१६:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    कोरियामा काम गर्ने नेपाली श्रमिकको तलब ह्वात्तै बढ्यो

    आषाढ ३०

  • 2.7K
    SHARES
  • कोरियामा काम गर्ने नेपाली श्रमिकको तलब ह्वात्तै बढ्यो

    सउल - दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो ।

    मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटकपटकको बैठकले प्रतिघन्टा १३० वनअर्थात् हालको ज्यालाअनुरुप १.५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो । निर्णयानुसार सन् २०२१ देखि प्रतिघन्टा आठ हजार ७२० वोन पुग्ने छ । अर्थात् अब कोरियामा रोजगारी गरिरहेका नेपालीको न्यूनतम ज्याला रु ८७० पुग्नेछ । महिनामा २०९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यूनतम तलब रु १८ लाख २२ हजार ४८० वन लगभग रु एक लाख ८० हजार पुग्नेछ ।

    सन् २०२० लागि २.९ प्रतिशत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो । कोरोना माहामारीका कारण कतिपय कम्पनी चल्न मुस्किल भएकाले पनि तलब वृद्धि कम हुन सक्ने बताइएको छ । रासस


    आषाढ ३०, २०७७ मंगलवार २१:१७:०० बजे : प्रकाशित


    चार महिनादेखि रोकिएको श्रम स्वीकृति आजदेखि खुला

    आषाढ १८

  • 2.3K
    SHARES
  • चार महिनादेखि रोकिएको श्रम स्वीकृति आजदेखि खुला

    काठमाडौं  - केही महिनादेखी रोकिएको श्रम स्वीकृति आजदेखि खुला भएको छ । कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनका कारण ४ महिनादेखी रोकिएको  श्रम स्वीकृति आजदेखि खुला गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

    बिदामा नेपाल आएका र करार अवधि बाँकी रहेकाले कोरोना परिक्षण गरि वैदेशिक रोजगारीमा जान दिने गरी निर्णय भएको जनाइएको छ ।  पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएकाले कागजातसहित निवेदन दिएमा, कोरोना परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलका आधारमा पुनः श्रम स्वीकृति जारी गर्ने बताइएको छ । 

    \"\"


    आषाढ १८, २०७७ बिहिवार १४:२५:०० बजे : प्रकाशित


    नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

    जेठ २०

  • 2.6K
    SHARES
  • नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

    लण्डन - नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासद्वारा सोमबार जारी सूचनामा जनाइएको छ । 

    कोभिड–१९ महामारीको परिणामस्वरुप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको राजदूतावासले जानकारी गराएको छ ।

    नेपाल फर्कन चाहनेले आफ्नो नाम, राहदानी नम्बर, स्थायी ठेगाना, नेपाल फर्केपछि बस्ने ठेगाना, नेपालको सम्पर्क नम्बर, नेपाल फर्कनुपर्ने कारण, हाल आफू रहेको ठेगाना, सम्पर्क नम्बर र इमेल साथै आफ्नै खर्चमा तोकिएको होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिन कुनमा बस्ने हो सोसमेत खुलाई राजदूतावासको फेसबुक पेज, ट्वीटर वा इमेलमार्फत पाँच दिनभित्र आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ । 

    यहाँको गैरआवासीय नेपाली सङ्घ बेलायतले सङ्कलन गरेको नेपाल फर्कन चाहने नेपालीको विवरण पनि राजदूतावासलाई प्राप्त भइसकेको छ । सूचना जारी भएपछि पनि नेपाल जान इच्छुकले राजदूतावास वा गैरआवासीय नेपाली सङ्घमा विवरण पठाउन सकिने उल्लेख गरिएको छ । हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अगाडि कोभिड सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण (पिसीआर÷आरडिटी÷अन्य) को प्रमाण साथमा राख्नुपर्ने भएकाले सोको व्यवस्था पनि स्वयंले गर्नुपर्ने र नेपाल फर्कने व्यक्तिले हवाई उडान तथा यातायात खर्च र होटल तथा क्वारेन्टिन खर्च आफँैले व्यहोर्नु पर्ने सूचनामार्फत जानकारी गराइएको छ ।

    यहाँबाट गएपछि नेपालको विमानस्थलमा पुगेपश्चात प्रत्येक यात्रुलाई काठमाडौँ चक्रपथ आसपासमा रहेका ‘होल्डिङ सेन्टर’मा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनमा ‘ट्रान्सफर’ गरिनेछ । नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्यरूपमा स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा १४ दिनसम्म बस्नुपर्ने र तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप सात दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ । नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ । एयरलाइन्स र उडान तालिकालगायत अन्य विवरणका सम्बन्धमा पछि जानकारी गराइने व्यहोरा उक्त सूचनामा उल्लेख गरिएको छ ।रासस


    जेठ २०, २०७७ मंगलवार ०८:२५:०० बजे : प्रकाशित


    दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार

    जेठ ८

  • 2.5K
    SHARES
  • दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार

    सउल - जेठमा हुनुपर्ने  रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोनाभाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ ।

    नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मङ्गलबार रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताउनुभएको हो । उहाँका अनुसार पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ । इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो ।  कोरियामा ४० हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । 

    हरेक वर्ष लगभग सात हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् । यस वर्ष पनि सात हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो ।  कोरोना भाइरस महामारी रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण परीक्षा कहिले हुने भन्ने अनिश्चितता थियो । यसैबीच कोरिया सरकारको पक्षबाट यो निर्णय आएको हो ।

    दक्षिण कोरियामा पठनपाठन

    कोरोना महामारीपछि बन् यहाँका विद्यालय पुनः सञ्चालन भएका छन् । कोरोना भाइरस केही साम्य हुन थालेपछि पहिलो चरणअन्तर्गत माध्यमिक तहका पठनपाठन बुधबारदेखि  सञ्चालन भएका हुन् । पूर्वप्राथमिकदेखि  अन्य तहका विद्यालय भने जुन ८ देखि सञ्चालन गरिने  शिक्षा मन्त्रालयले बताएको छ ।

    गत फेब्रुअरीदेखि कोरोना भाइरसले महामारीको रुप लिएपछि सम्पूर्ण तहका विद्यालय बन्द भएका थिए । पुनः सञ्चालनमा आएका हरेक विद्यालयमा शिक्षक तथा विद्यार्थीको स्वास्थ्य निगरानी तथा सेल्फ आइसोलेसनलगायत कुरालाई बढी जोड दिइने बताइएको छ । ती विद्यालयमा शिक्षा मन्त्रालयले सात चेक प्वाइन्टसमेत उपलब्ध गराएको छ ।

    विद्यालय खुलेर पठनपाठन शुरु भए पनि कोरियामा कोरोना भाइरस भने पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । दुई हप्ताअघि सउल नजीकैको इथेवन बजारको एक रात्रि क्लबबाट सामूहिक सङ्क्रमणपछि कोरियामा सङ्क्रमण पुनः थपिएको छ । बुधबार मात्र ३२ नयाँ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको ११ हजार ११० पुगेका छन् । त्यसैगरी नौ हजारभन्दा धेरै निको भई घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुने २६३ पुगेका छन्  ।रासस
     


    जेठ ८, २०७७ बिहिवार ०७:२१:०० बजे : प्रकाशित


    अलपत्र नेपालीको उद्धारका लागि २० करोड ‘सिडमनी’ व्यवस्था गर्न माग

    बैशाख २८

  • 2.0K
    SHARES
  • अलपत्र नेपालीको उद्धारका लागि २० करोड ‘सिडमनी’ व्यवस्था गर्न माग

    काठमाडौँ - गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ बाट प्रभावित मध्यपूर्वी मुलुकमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिएको छ । एनआरएनको मध्यपूर्व क्षेत्रका प्रतितिधि र नेपाली नियोगका प्रतिनिधि सहभागी ‘भर्चुअल’ बैठकमा कोभिड–१९ का कारण प्रभावित नेपालीको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो । 

    बैठकमा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सकारात्मक सूचना सम्प्रेषण गरी नेपालीको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले नेपाल सरकारले प्राथमिकता क्रम छुट्याई नेपाल जानै पर्ने अवस्थाका नेपाली नागरिकलाई नेपाल लैजाने तयारी गरिरहेको जानकारी दिनुभएको थियो । कोरोनाका कारण कति समयसम्म अन्तर्राष्ट्रिय उडान रोकिन्छ भन्ने यकिन नभएकाले सो अवधिसम्म धैर्य गर्न उहाँले आग्रह गर्नुभयो । 

    सङ्घका अध्यक्ष कुमार पन्तले मध्यपूर्वमा रहेका नेपाली कामदारको स्वास्थ्यलाई लिएर आफूहरु अत्यन्तै चिन्तित रहेको भन्दै महामारीबाट बच्न सबैको सहयोगको खाँचो औँल्याउनुभयो । सङ्घका उपाध्यक्ष बद्री केसीले नेपाली कामदारको उद्धारका लागि रु २० करोडसम्मको ‘सिड मनी’को व्यवस्था गर्न नेपाल सरकारलाई प्रस्ताव गरिएको बताउनुभयो । 
        
    सङ्घको वैदेशिक रोजगार समितिका संयोजकसमेत रहनुभएका केसीले विदेशमा अलपत्र परेका ११२ नेपालीको शव नेपाल लैजान तत्कालै कदम चाल्नुपर्नेम जोड दिनुभएको थियो । बैठकले स्वास्थ्य टोली गठन गरी कोभिड–१९ बाट नेपाली प्रभावित भएका ठाउँमा परिचालन गर्नुपर्ने, हटलाइनको व्यवस्था गरी समस्यामा परेका नेपालीलाई सहयोग गर्नुपर्ने, राहत तथा औषधिका लागि स्वास्थ्य कोषको व्यवस्था गर्नुपर्नेमा जोड दिएको थियो । 

    एनआरएनए हङकङद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण - गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् हङकङले कोभिड–१९ को विरुद्ध प्रयोग गरिने स्वास्थ्य उपकरण सरकारलाई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित कार्यक्रममा ५० थान आइआर थर्ममिटर र चार हजार थान केएन नाइन्टी फाइव मास्क हस्तान्तरण गरिएको हो । सङ्घका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेललाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।रासस 
     


    बैशाख २८, २०७७ आइतवार १९:११:०० बजे : प्रकाशित


    सरकारले भन्यो - ‘विदेशमा अलपत्र कामदार ल्याउने गृहकार्य भइरहेको छ’

    बैशाख १७

  • 1.5K
    SHARES
  • सरकारले भन्यो - ‘विदेशमा अलपत्र कामदार ल्याउने गृहकार्य भइरहेको छ’

    काठमाडौँ - सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने गृहकार्य भइरहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आज विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै अलपत्र नागरिकलाई स्वदेश फर्काउने विषयमा गम्भीरताका साथ अध्ययन भइरहेको बताउनुभयो ।
     
     ठूलो सङ्ख्याका नेपालीलाई एकसाथ स्वदेश फर्काउन ठूलो स्रोत साधनको आवश्यकता पर्ने भन्दै उहाँले विभिन्न कारणले अलपत्र परेका, बिरामी तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिएर नेपाल ल्याइने बताउनुभयो । “बीसौँ लाख नेपाली आप्रवासी श्रमिक खाडी, मलेशिया तथा अन्य मुलुकमा हुनुहुन्छ । यसमध्ये थोरै प्रतिशत मात्र नेपालीलाई फिर्ता गर्न र नेपाल आइसकेपछि क्वारेन्टाइनमा राख्नेलगायतको व्यवस्थापन गर्न पनि ठूलो स्रोत साधनको आवश्यकता पर्दछ”, मन्त्री यादवले भन्नुभयो, “हाम्रो क्षमता यसलाई थेग्न सक्छ सक्दैन भन्ने कुरामा पनि हामी सचेत रहनैपर्ने हुन्छ ।”
     
    गन्तव्य मुलुकमा रहेका नेपालीलाई तत्कालका लागि जहाँ भए पनि सुरक्षित बस्न आग्रह गर्दै उहाँले कठिन परिस्थितिमा आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्नुभयो । रोजीरोटी गुमाएर खर्चको अभावमा र अन्य कारणले खान बस्नको समस्यामा परेमा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा सम्पर्क गर्न आग्रह गर्दै उहाँले कठिन अवस्थामा पनि विचलित नभई उच्च मनोबलका साथ आफ्ना आफन्तजन तथा नेपाली दूतावासमा आफ्नो अवस्थाका सम्बन्धमा नियमित सम्पर्कमा रहन पनि अनुरोध गर्नुभयो ।
     
    उहाँले विदेशमा रहेका नेपाली सङ्घसंस्था तथा व्यक्ति विशेषलाई दुःखमा परेका र अलपत्र भएका नेपालीलाई मानवीय सहायता उपलब्ध गराउन पनि अपिल गर्नुभयो । गन्तव्य मुलुकमा रहँदा कोरोना भाइरस सङ्क्रमणको चपेटामा परेका नागरिकको उचित स्वास्थ्योपचारका लागि सरकारले कूटनीतिक पहल गरेको मन्त्री यादवले बताउनुभयो । “नेपाली कामदारको हकहित र सुरक्षालाई लिएर प्रधानमन्त्रीले पनि विदेशस्थित आफ्ना समकक्षीसँग निरन्तर टेलिफोन संवाद गरिरहनुभएको छ”, नेपाली कामदारले भोग्दै आएको समस्याप्रति सरकार संवेदशनील रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ।
     
    कतिपय गन्तव्य मुलुकले कोभिड–१९ बाट प्रभावित आप्रवासी श्रमिकलाई राहतका कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै मन्त्री यादवले दूतावासमार्फत ती कार्यक्रमको जानकारी लिई लाभ लिन पनि अनुरोध गर्नुभयो । कोरोना भाइरसलाई फैलन नदिने एकमात्र उपाय भनेको व्यक्तिव्यक्ति बीचको दूरी कायम गर्नु नै उचित भएको उल्लेख गर्दै उहाँले पटकपटक साबुन पानीले हात धुने, आफ्नो हातलाई सकभर नाक, आँखा र मुखमा पुग्न नदिने, मास्क लगाउने र व्यक्तिगत सरसफाइलाई ध्यान दिन आग्रह गर्नुभयो ।रासस
     


    बैशाख १७, २०७७ बुधवार २१:३८:०० बजे : प्रकाशित