आइतबार
१ मङ्सिर
२०७६

सी भ्रमणमा सरकारले कुशलता र श्रेष्ठता देखायो– नारायणकाजी श्रेष्ठ

सोमबार असोज २७, २०७६/ Monday 10-14-19

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला सरकारले कुशलता र श्रेष्ठता देखाएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सीको नेपाल भ्रमणमा नेपाल सरकारले परिपक्वता देखिएको बताएका हुन् । शनिबार दुई दिने नेपाल भ्रमणमा आएको सी आइतबार स्वदेश फर्किसकेका छन् । उनी फर्केको भोलिपल्ट प्रवक्ता श्रेष्ठले राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक, भव्य र सफल रहेको समेत बताएका छन् । 

ट्वीटरमा उनले लेखेका छन्– ‘चीनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक, भव्य र सफल रह्यो। यो साँच्चै कोशेढुंगा बनेको छ र हाम्रो सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको छ,’ श्रेष्ठले भनेका छन्, ‘महामहिम सी र चीन सरकारप्रति आभार। यसपटक हाम्रो पनि परिपक्वता देखियो। सिंगो देश एक ढिक्का भयो र सरकारले कुशलता र श्रेष्ठता देखायो, प्रधानमन्त्री र सबैलाई बधाई।’