शनिबार
१७ जेठ
२०७७

डब्लूएचओको मापदण्डअनुसार मुलुकभर क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउन राप्रयुसंको माग

बिहीबार जेठ ८, २०७७/ Thursday 05-21-20

काठमाडौं । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं)ले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउन सरकारसँग माग गरेको छ । 

बिहीबार राप्रयुसंका अध्यक्ष प्रकाश रिमालले विज्ञप्ति जारी गरेर मुलुकभर पर्याप्त मात्रामा डब्लूएचओको मापदण्डअनुसार क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउन सरकारसँग माग गरेका हुन् । 

‘संकटको बेला स्वास्थ्य समाग्री खरिदमा भएको ढिलासुस्ती, अक्षम्य आर्थिक अनियमितता र चलखेलले जनताप्रति सरकार विश्वास गुमेको छ’,  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘विपद व्यवस्थापन गर्न, संकटमा परेका जनतालाई राहत दिन, जनस्वास्थ्य र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार पुरै असफल भएको यस संगठनको ठहर छ ।’

सो विज्ञप्तिको पूर्णपाठ :
 

प्रेस विज्ञप्ति

कोरोना भाइरस (Covid-19) को त्रासदीपूर्ण अवस्थाबाट सरकारले अपेक्षित रूपमा डेलिभरी दिन सकिरहेको छैन । पुरै देश लकडाउन भएको पनि २ महिना बित्न लागिसक्दा समेत सरकार आम जनतालाई प्रत्याभूति दिन असफल भइरहेको छ । संकटको बेला स्वास्थ्य समाग्री खरिदमा भएको ढिलासुस्ती, अक्षम्य आर्थिक अनियमितता र चलखेलले जनताप्रति सरकार विश्वास गुमेको छ । 

आज विपन्न वर्गलाई मात्र हैन मध्य्म वर्गीय परिवारलाई समेत राहत वितरण गर्नुपर्नेमा सरकारले राहत वितरणको कार्यक्रम नै बन्द गरिदिएको छ । तसर्थ विपद व्यवस्थापन गर्न, संकटमा परेका जनतालाई राहत दिन, जनस्वास्थ्य र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार पुरै असफल भएको यस संगठनको ठहर छ ।

विश्वले संकटको उदघोष गरेको कोभिड-१९ महामारीको यस कठिन समयमा पर्याप्त स्वास्थ्य सामाग्री बिना नै स्वास्थ्यकर्मीहरु काम गर्न बाध्य हुनु अत्यन्त दु:खद हो । जुन दरमा स्वास्थ्य परिक्षण भईरहेको छ, त्यो समेत सन्तोषजनक छैन । यस्तो संकटको बेलामा सरकारले जनताप्रतिको अभिभावकीय जिम्मेवारी पूरा गर्न नसक्नु, सरकारले गरेको निर्णयमा बारम्बार त्रुटि हुनुले जनतालाई अझ चिन्तित र भयभीत बनाएको छ । तसर्थ सरकारले गम्भीरतापूर्वक परिणाममुखी निर्णय गरोस् भनि यस संगठन माग समेत गर्दछ । यस्तो संकटको अवस्थामा पनि नेकपा नेतृत्वको सरकार भने आन्तरिक कलहमै अल्झिरहनु अत्यन्त दु:खद भएको संगठनको ठहर छ ।

भाइरसको संक्रमणबाट हुन सक्ने महामारीको क्षतिलाई रोक्न स्वास्थ्य संस्थामा आवश्यक PPE (Personal Protective Equipment), Test Kit, Oxygen Generating Apparatus र Ventilator को पनि पर्याप्त रूपमा प्रबन्ध गरियोस् ।
सरकारले पर्याप्त मात्रमा देशैभरि quarantine, Isolation Ward विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्डअनुसार नै गरोस् ।

केहि दिन अघि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम विगतको झै कर्मकाण्डी मात्र भएको यस संगठनको ठहर छ । भारतद्वारा अतिक्रमित भूभाग फिर्ता लिने प्रतिबद्धता बाहेक सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले आशा जगाउन सकेन । यस्तो महामारी र संकटको अवस्थामा राहतको विशेष कार्यक्रम ल्याउन नसक्नुले पनि सरकारप्रति जनता निराश रहेका छन् । सरकारले विपन्न वर्ग, मध्यवर्ग तथा साना व्यापारी, उद्योगपति लगायतलाई समेत विशेष राहत र अनुदानको प्याकेज ल्याओस । त्यस्तै सरकार कोरोना भाइरस परिक्षणको लागि शुल्क निर्धारण गर्न लागेको आमसञ्चार माध्यमबाट सुनिदैआएको छ । सरकारको यस कदम नेपालको संविधान, जनस्वास्थ्य सेवा ऐन २०७५ को विपरित भएको हुँदा सबै जनतालाई निशुल्क कोरोना परिक्षण गर्न संगठन जोडदार माग समेत गर्दछ । साथै सरकारले संसदिय विकास कोष, मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरुको सुविधा कटौती गरि राहत कोष वृद्धि गर्न र आवश्यकता अनुसार जनतालाई वितरण गर्न समेत संगठन माग गर्दछ ।

भारतीय अतिक्रमण विरुद्ध देशैभरिबाट युवाहरूले उठाएका आवाज तथा राष्ट्रियताको भावनाप्रति यस संगठन धेरै धेरै धन्यवाद व्यक्त गर्दछ । भारतले अतिक्रमण गरेको नेपालको जमिन फिर्ता नभएसम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गर्दछ ।

त्यस्तै नेपाल सरकारले भारतद्वारा विगत ६ दशकदेखि अतिक्रमण गरेको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भुभागलाई समेटेर नयाँ राजनीति र प्रशासनिक नक्सा जारी गरेकोप्रति यस संगठन स्वागत गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाप्रति सरकारले देखाएको दृढता र प्रतिबद्धताप्रति यस संगठनको ऐक्यबद्धता समेत रहेको जानकारी गराउदछ । तर भारतीय पक्षबाट नेपालको अखण्डताको विरुद्ध भइरहेको दुष्प्रचारप्रति भने यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो कार्यप्रति संगठन घोर भत्सर्ना समेत गर्दछ । नेपालको राष्ट्रिय सुरक्षाको लागि लड्न र प्रतिकार यस युवा संगठन सधैं तयार रहेको समेत जानकारी गराउदछ । साथै संगठन सरकारलाई भारतीयको दबाबमा नझुक्न आग्रह समेत गर्दछ । भारतीय अतिक्रमण विरुद्ध राष्ट्रियताको पक्षमा लड्न सदा सर्वदा सम्पुर्ण राष्ट्रवादी युवाहरू तत्पर रहेको समेत जानकारी गराउछौं ।

प्रकाश रिमाल
अध्यक्ष