बिहीबार
२२ जेठ
२०७७

आज एकैदिन २१ जना संक्रमित डिस्चार्ज हुँदा यी बालिकाले पनि जितिन् कोरोनालाई, निको हुनेको संख्या ७० पुग्यो

शुक्रबार जेठ ९, २०७७/ Friday 05-22-20

काठमाडौं । बाँकेमा उपचाररत कोरोनाभाइरस संक्रमित मध्ये शुक्रबार २१ जना निको भएर घर फर्किएका छन् ।  खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेर उपचार गराइरहेका २१ जनामा कोरोनाभाइरस नेगेटिभ रिपोर्ट आएपछि शुक्रबार डिस्चार्ज गरिएको हो । 

दोस्रोपटक परीक्षण गर्दा पनि कोरोना नेगेटिभ रिपोर्ट आएपछि शुक्रबार १२ जना पुरुष र नौ जना महिलालाई डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । जसमा बालिका पनि रहेकी छन् । उनी पनि कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएकी छन् । 

उनीहरु घर फर्किएसँगै हालसम्म कोरोनाभाइरस संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७० पुगेको छ । शुक्रबार डिस्चार्ज भएका सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका रहेका हुन् ।  बाँकेमा अहिलेसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

तस्बिर  : सामाजिक सञ्जाल