बिहीबार
२२ जेठ
२०७७

आज एकैदिन ५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

शुक्रबार जेठ ९, २०७७/ Friday 05-22-20

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयकाअनुसार शुक्रबार एकैदिन ५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले शुक्रबार बिहान र अपरान्ह दिएको विवरणअनुसार एकैदिन ५० जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको हो । 

मन्त्रालयले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरेर ३० जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो भने अपरान्ह पत्रकार सम्मेलन गरेर थप २० जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५०७ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार अपरान्ह प्रवक्ता डा. विकास देवकोटाले बाँकेका १४ जना पुरूषमा, कैलालीमा तीन जना पुरुषमा र  डडेल्धुरा, मोरङ, बैतडीका एक–एक जना पुरूषमा कोरोना संक्रमण देखिएको जानकारी दिए । 

कैलाली जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षीय पुरूष, डडेल्धुराका २८ वर्षीय पुरूष, बैतडीका शिवनाथ १ का २२ वर्षीय पुरूष र बाँकेका १८ देखि ६१ वर्षका पुरूषमा संक्रमण देखिएको हो। मोरङ रतुवामाई–२ का ४१ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।   

साथै मन्त्रालयकाअनुसार हालसम्म ७० जना निको भएर घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ।