शुक्रबार
२६ असार
२०७७

बाबुरामको नाममा उपेन्द्र यादवको आपत्ति, पाँच दिनदेखि एकीकरण वार्ता ठप्प

मंगलबार जेठ १३, २०७७/ Tuesday 05-26-20

काठमाडौं । तत्कालीन राजपा र समाजवादी पार्टी नेपालबीच रातारात एकीकरण घोषणा भई गठन भएको जनता समाजवादी पार्टी एक महिना नबित्दै विभाजनको दिशामा अघि बढेको छ । खासगरी राजपाले कार्यकारी अधिकारसहित महन्थ ठाकुरलाई अध्यक्ष र डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउन प्रस्ताव गरेपछि उपेन्द्र यादव भड्केका छन् । उनले बाबुरामको नाममा ठाडै आपत्ति जनाएको बताइन्छ ।

पार्टी कब्जा गर्ने उद्देश्यले राजपाले नयाँ प्रस्ताव गरेको भन्दै उपेन्द्रले आपत्ति जनाएपछि पाँच दिनदेखि एकीकरण वार्ता ठप्प भएको छ । एक महिना बितिसक्दा पनि जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन । जसपाले पार्टी अध्यक्षसहित केन्द्रीय समितिको सूची बुझाए मात्र निर्वाचन आयोगबाट पार्टीले औपचारिक मान्यता पाउँछ ।

राजपाले शुक्रबार समाजवादी पार्टीलाई पठाएको पत्रपछि उपेन्द्र आगो भएका छन् । उपेन्द्र कुनै पनि हालतमा बाबुरामलाई नेता मान्न तयार देखिएका छैनन् । उनले महन्थ ठाकुरपछि आफू नै संघीय परिषद्को अध्यक्ष बन्ने गरी निर्वाचन आयोगमा पार्टी दर्ता गर्नसकिने सन्देश राजपाका नेतालाई पठाएको बताइएको छ ।

यदि महन्थ ठाकुर र बाबुराम भट्टराईलाई पार्टीको नेतृत्व सुम्पिए आगामी निर्वाचनमा कसरी जनतासँग मत माग्ने भन्ने गमभीर संकट आइपर्ने भन्दै उपेन्द्रले बाबुरामको नाममै आपत्ति जनाएको बुझिएको छ ।