शुक्रबार
२६ असार
२०७७

मोदीको व्यवहारपछि ओलीले लिएको एक्सनले भारतलाई हल्लायो

बिहीबार जेठ १५, २०७७/ Thursday 05-28-20

काठमाडौं । नेपाल आफ्नो भौगोलिक अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाका लागि अहिले संघर्षरत छ । दुई विशाल देशको बीचमा रहेको सार्वभौम सम्पन्न मुलुक नेपालमाथि छिमेकी देशको सीमा मिच्ने र यसलाई आफ्नो नक्सामा समेटेर दाबी गर्ने प्रवृत्ति बढ्न थालेको छ ।

यसविरुद्ध नेपाल संघर्षरत छ । गत नोभेम्बर २ मा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपालको अतिक्रमित भूमिलाई समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सीमा विवाद उत्कर्षमा पुगेको हो । 

भारतको उक्त कदमको विरोध गरेको नेपालले वार्ताको माध्यमबाट समस्या समाधान गर्न खाजेको छ । तर, भारत भने वार्तामै बस्न आनाकानी गरिरहेको छ । गत नोभेम्बरदेखि लगातार वार्ताको मिति तय गरेर नेपालले पठाए पनि भारतले भने बेवास्ता गर्दै आएको छ । वार्तामा नबस्ने भारतले चीनसँग सन् २०१५ मा भएको सहमतिअनुसार यही मे ८ मा लिपुलेक क्षेत्रमा बनाएको बाटो उद्घाटन गरेर नेपालको भौगोलिक अखण्डतामाथि प्रहार गर्ने कार्य गरेसँगै विवाद उत्कर्षमा पुगेको हो । 

वार्तामा नबस्ने र पेलेर अघि बढ्ने भारतको कदम बुझेपछि नेपाल पनि सोहीअनुसार अघि बढ्न थाल्यो । जसअनुसार यही मे १८ (जेठ ५) गते बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नक्सा अद्यावधिक गर्ने निर्णय गर्‍यो । यसबीचमा नेपालले वार्ताको प्रयास पनि भारतसँग जारी राखेको थियो । 

नेपालको प्रस्तावलाई स्वीकार्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका समकक्षी केपी शर्मा ओलीसँग टेलिफोन सम्वाद गर्न राजी भएका थिए । जसअनुसार प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच जेठ ६ गते मंगलबार अपराह्न ४ बजे टेलिफोन संवाद गर्ने समय तय भएको थियो । तर अन्तिम समयमा आएर मोदीले आफ्नो व्यस्तताको बहाना बनाएर सम्वाद गर्न इन्कार गरे । मोदीले सम्वाद गर्न नचाहेको जेठ १३ मंगलबार बोलाएको सर्वदलीय बैठकमा ओलीले जानकारी गराएका थिए । 

सो बैठकमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन वार्ताको प्रयास सफल हुन नसकेको बताएका छन् । यस पछि मे २० (जेठ ७)मा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री सुधारमन्त्री पद्मा अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेको नेपालको नयाँ नक्सा जारी गरेकी थिइन् । 

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतमा यसबारे व्यापक चर्चा पायो । नेपालबारे विचारहरु बाँडिए । भारतीय पुराना पत्रकारहरुले लिपिम्याधुरा, कालापानी र लिपुलेक नेपालकै भएको बताइरहँदा अरुले भने भारतको भूमि भन्दै गलत प्रचारबाजी गरे ।