बुधबार
२४ असार
२०७७

सपनाको नगरी मुम्बई कसरी कोरोनाले तहसनहस हुँदैछ ?

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

मुम्बई लामो समयदेखि सधैँ दौडिरहने सहरको रूपमा चिनिएको छ। यो अलि अविश्वसनीय लाग्छ र आफ्नो जीवनको लामो समय यहाँ बसेको आधारमा म त्यो कुरा सत्य हो भनेर भन्न सक्छु।

सन् २००८ को आक्रमणको बेलामा पनि जति बेला दक्षिण मुम्बईमा बन्दुकधारीहरू सक्रिय थिए, सहरको अन्य भागमा रेल कुदिरहेको थियो, लाखौँ मानिसहरू काममा गएका थिए एवम् भोजनालय र कार्यालयहरू खुलेका थिए।

तर कोभिड-१९ का कारण लागु कडा लकडाउनले यो सहरलाई भूताहा सहर बनाएको छ। यसले यहाँको स्वास्थ्य पूर्वाधारहरू पनि ढल्ने अवस्थामा पुर्‍याएको छ।

"हिजो राति छ घण्टाभित्र मैले कोभिडसम्बन्धी कारणले १५ देखि १८ जना मरेको देखेँ। यसअघि कहिल्यै एउटै शिफ्टमा त्यति धेरै मान्छे मरेको देखेको थिइनँ," कोरोनाभाइरस सङ्क्रमितको उपचार गरिरहेका थुप्रै सरकारी अस्पतालमध्ये एक केईएम अस्पतालका एक चिकित्सकले मलाई बताए।

उनले कारबाही हुने डरले नाम भने बताउन चाहेनन्। "यो युद्धमैदान हो। त्यहाँ प्रत्येक शय्यामा दुई-तीनजना बिरामी छन्, केही भुइँमा छन्, केही बाटोमा छन्। हामीसँग पर्याप्त अक्सिजन दिने टुटी छैन। त्यसैले केहीलाई आवश्यक भए पनि अक्सिजन दिन सकिएको छैन।"

सायन अस्पतालका एक चिकित्सकले एउटा अक्सिजन ट्याङ्क दुईदेखि तीन जनाका लागि प्रयोग गरिरहेको बताए। थप बिरामी राख्न शय्याबीचको दूरी घटाइएको उनले बताए। व्यक्तिगत सुरक्षा परिधान अर्थात् पीपीई लगाउने र फुकाल्ने ठाउँमा समेत यथेष्ट सुरक्षा व्यवस्था नभएको बताए।

मुम्बईको गर्मी र आद्रतामा चिकित्सकहरू पीपीई लगाएको केही मिनेटमै असिनपसिन हुन्छन्। सायन र केईएम अस्पतालका भनिएका भिडिओहरूमा बिरामीहरूलाई शवसँगै सुताएर उपचार गरिरहेको र भिड देखिन्छ। यी भिडिओले सामाजिक सञ्जालमा मानिसहरूलाई आक्रोशित बनाएको छ।

"मुम्बईमा उच्चस्तरको स्वास्थ्य सुविधा र चिकित्सकहरू छन् तर यो महामारीको लागि तैयार थिएन," जनस्वास्थ्य विज्ञ डा. स्वाति राणेले भनिन्। "सपनाको सहर अहिले डरलाग्दो सपनाको सहर बनेको छ।"

साना टापुहरूलाई जोडेर बनाइएको भारतको आर्थिक गतिविधिको मुख्य सहरमा भारतभरिबाट काम र अवसरको खोजीमा लाखौँ मानिसहरू आएका छन्। भाइरसविरुद्धको सङ्घर्ष गाह्रो हुने एउटा प्रमुख कारण यहाँको जनघनत्व पनि हो जुन विश्वकै दोस्रो ठूलो हो।

"भिडिओमा देखाइएको अवस्था यहाँ कैयौँ वर्षदेखि छ," एक चिकित्सकले भने। "दुर्भाग्यवश यहाँको स्वास्थ्यसेवा सुविधा धराशायी हुने अवस्थामा छ भनेर मानिसहरूलाई थाहा हुन महामारी आउनुपर्‍यो।"

सरकारी तथ्याङ्कअनुसार मुम्बईमा ७० सार्वजनिक अस्पताल छन्। तिनमा २०,७०० वटा शय्या तथा १,५०० निजी केन्द्रमा २०,००० वटा शय्या छन्। त्यहाँको प्रति ३,००० जनसङ्ख्याका लागि एउटा शय्या छ जुन विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको प्रति ५५० व्यक्तिका लागि एउटा शय्याको अनुपातभन्दा निकै कम हो।

भारत सरकारको १० वर्ष पुरानो तथ्याङ्क हो र त्यसयता मुम्बईको जनसङ्ख्या ह्वात्तै बढेको छ तर स्वास्थ्य सुविधाले त्यस्तै फड्को मार्न सकेको छैन।सरकारी सेवामा रहेका चिकित्सकहरूलाई कोभिड-१९ को महामारीले झन् गाह्रो बनाएको छ किनभने उनीहरूमाथि लामो समयदेखि अनावश्यक बोझ थियो।

"यो सबै बोझ सार्वजनिक क्षेत्रमा परेको छ किनभने निजी क्षेत्र खासै यसमा संलग्न छैनन्। निजी क्षेत्रमा केही शय्या मात्रै कोभिड-१९ का लागि प्रयोग भएका छन्," डा. राणेले भनिन्।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।