बुधबार
२४ असार
२०७७

राष्ट्रपतिलाई कहिले डेढ अर्बको हेलिकोप्टर, कहिले एक करोडको कार्पेट, जनता भने सधैं निरीह

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

काठमाडौं । राष्ट्रपति कार्यालयमा २० वर्ष पुराना कार्पेट हटाएर एक करोडको नयाँ कार्पेट हाल्ने तयारी भन्ने समाचार आएपछि फेरि एकपटक राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । कोरोना महामारीका बेला राष्ट्रपति कार्यालयमा एक करोडको कार्पेट फेर्ने तयारी भइरहेको समाचार सोमबारको नयाँ पत्रिकामा प्रकाशित छ ।

समाचारमा गण्डकी प्रदेशका नेकपा सांसद रामकुमार गुरुङलाई ठेक्का दिइएको उल्लेख छ । जनता कोरोना भाइरस संक्रमण र लामो लकडाउनले दैनिकजसो मरिरहेका बेला राष्ट्रप्रमुखलाई अहिले नै यस्तो विलासिताको सामान किन चाहियो भन्ने सामाजिक सञ्जालमा टीकाटिप्पणी उठिरहेको छ ।

यसअघि राष्ट्रपतिका लागि नेपाली सेनाले डेढ अर्बको हेलिकोप्टर खरिद गर्दा पनि उनी विवादमा आएकी थिइन् । त्यसबेला सरकारले राष्ट्रपति कार्यालयका लागि १८ करोडभभन्दा बढीको सवारीसाधन खरिद गर्ने सरकारको निर्णय निकै विवादमा परेको थियो ।

नेपालमा राष्ट्रपति, प्रधानमन्त्री जस्ता पदमा बस्नेहरू विलासिताकै कारण जनताको नजरमा गिरेका छन् । विदेशमा धेरै देशका राष्ट्रपति र प्रधानमन्त्री सामान्य जीवनयापन गर्न रुचाउँछन् ।

नेपालमा भने जनताले तिरेको करबाट सरकार प्रमुख र राष्ट्रप्रमुखले आमोद प्रमोदमा बिताइरहेको पाइन्छ । तर, राज्यलाई कर तिर्ने निमुखा जनता भने सधैं निरीह बनेका छन् ।