बुधबार
२४ असार
२०७७

पत्ता लाग्यो कोरोनाभाइरसको खोप, नाम दिइयो ‘कोरोनाभ्याक’

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

काठमाडौं । चिनियाँ भ्याक्सिन उत्पादक एक कम्पनीले कोरोनाभाइरसको खोप पत्ता लगाएको दाबी गरेको छ । चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले कोरोनाभाइरसको भ्याक्सिन बनाएको दाबी गरेको टाइम्सनाउन्यूजले जनाएको छ ।

कम्पनीका अनुसन्धानकर्ताहरुले यो भ्याक्सिन ९९ प्रतिशत प्रभावकारी हुने दाबी गरेका छन् । जसलाई ‘कोरोनाभ्याक’ नाम दिइएको छ । 

यसअघिको परीक्षणमा यो भ्याक्सिनले बाँदरलाई कोरोनाभाइरसबाट सुरक्षित राख्न सक्ने पाइएको छ । कम्पनीले भ्याक्सिनको अहिले दोस्रो चरणको परीक्षण जारी राखेको र तेस्रो परीक्षण बेलायतमा गर्ने तयारी गरेको छ ।

यसका लागि बेलायतसँग परामर्श भइरहेको जनाइएको छ । यद्यपि सो भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । डब्लूएचओको स्वीकृति बिना उपचारमा कुनै पनि औषधि र भ्याक्सिन प्रयोगमा आउँदैन ।