शुक्रबार
२६ असार
२०७७

आजदेखि दरबारमार्गका पसल खुल्ने, कीर्तिपुर बजार बिहानैदेखि खुला

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं । सरकारले लकडाउन मात्रै थपिरहने तर राहतका कुनै योजना ल्याउन नसकेपछि स्वतस्फूर्त रूपमा नागरिकले अवज्ञा गर्न थालेका छन् । सातौं चरणको लकडाउन मंगलबारसम्म कायम थियो । बुधबारदेखि आठौं चरणको लकडाउन सुरु भएको छ ।

तर, यसपटक जनस्तरबाटै लकडाउन अवज्ञा गर्ने क्रम सुरु भएको छ । मंगलबार लकडाउनको विरोधमा काठमाडौंको जोरपाटीका स्थानीयले प्रदर्शन गरेका थिए । उनीहरूले बुधबारदेखि आफ्नो पेसा व्यवसाय सुरु गर्ने चेतावनी दिएका छन् ।

बुधबार बिहानैदेखि काठमाडौं, ललितपुर, भक्तपुरका बजारहरू अन्य दिनको तुलनामा धेरै खुलेका छन् । कीर्तिपुरको सबै पसल खुलेका छन् । मानिसहरू सामाजिक दूरी कायम गरेर बजार निस्किएका छन् ।

राजधानीको दरबारमार्ग क्षेत्रका पसलहरू आजबाट खुल्ने भएका छन्। दरबारमार्ग डेभलपमेन्ट बोर्डको मंगलबार भएको अनौपचारिक छलफलले आजदेखि दरबारमार्ग क्षेत्रको व्यावसाय सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारले लकडाउनको अवधि मात्र थपेको, तर नयाँ मोडालिटीको बारेमा केही पनि नगरेको भन्दै व्यवसायीले पसल खोल्ने लागेका हुन्। आज सबै पसल र व्यवसाय खोलेर सरसफाई गर्ने र थप व्यवसायी र कर्मचारीसँग छलफल गरेर आधिकारिक धारणा बनाउने निर्णय भएको छ । 

आजदेखि सुर्खेत, हेटौडा, कैलालीलगायत ठाउँहरूमा पनि लकडाउनको विरोध गर्दै पसल खुलेका छन्। झापामा पनि बजार खुलेका छन् ।