शुक्रबार
२६ असार
२०७७

एमसीसीले नेकपा फुटको संघारमा, ओलीलाई घेराबन्दीमा पार्ने गरी प्रचण्डसहित नेताहरुको तयारी

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं ।  सत्तारुढ नेकपाको आन्तरिक विवादले राजनीतिक बजारलाई तताउन छोडेको छैन । कहिले कसैलाई प्रधानमन्त्री बनाउने उद्देश्यसहित संविधान संशोधन गर्ने निर्णयले कहिले  अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित गर्ने नगर्ने विषयले राजनीतिक बजारमा नेकपा छाइरहेको छ । 

राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा गर्नुपर्ने बेला भइरहेको सत्तारुढ नेकपाको आन्तरिक विवादले राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने देखिन्छ । केही दिन संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गर्नुपर्ने बताएका थिए । त्यसपछि जेठ १५ गते संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको आयव्ययसहितको बजेटमा एमसीसीको कार्यक्रम समेटिएपछि नेकपाभित्रको विवाद भुसको आगोजस्तै सल्किरहेको छ । 

बजेट प्रस्तुत भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसमक्ष एमसीसीको कार्यक्रम बजेटमा समेटिएको प्रति असन्तुष्टि जनाएका थिए । दुई अध्यक्ष ओली–प्रचण्डबीको सहमतिअनुसार पार्टी सचिावलयको बैठक डाकियो । सो बैठकमा आफूमाथि एमसीसीको विषयले नेताहरु हावी हुने देखिएपछि अध्यक्ष ओली प्रतिरक्षाका लागि अर्थमन्त्री खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बैठक आमन्त्रणसमेत गरेका थिए । 

प्रधानमन्त्री ओली कुनै पनि हालतमा एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् भने प्रचण्डसहित सचिवालयका अधिकांश सदस्य यसको विपक्षमा छन् । प्रचण्डसहितका नेताहरु यथास्थितिमा कुनै हालतमा एमसीसी पारित गर्न नदिने अडानमा छन् । 
सचिवालय बैठकमा ओलीविरुद्ध एक भएका नेताहरुल् पार्टी निर्णय विरुद्ध नजान प्रधानमन्त्रीलाई चेतावनी समेत दिएका छन् । 

एमसीसीको रस्साकस्सीमा नेकपा भाँसिँदै छ । नेताहरु ध्रुवीकृत भइरहेका छन् । एमसीसीले पार्टीलाई जोगाउन गाह्रो पर्ने बुझेपछि प्रधानमन्त्री ओलीले पूर्वएमाले पक्षधर नेताहरुलाई एकजुट बनाउने गरी रणनीति अख्तियार गरेका छन् भने ओलीइतरका नेता पनि आफ्नै रणनीति बुनिरहेका छन् । 

एमसीसी सम्झौता स्वतः खारेज हुने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री ओलीलाई पारित गर्नुपर्ने अवस्थाले च्यापिरहेको छ । उनी असार मध्यसम्ममा एमसीसी संसदबाट पारित गराउने मनसायमा छन् । यसका लागि पार्टी स्थायी कमिटी केन्द्रीय कमिटीमा बहुमत नहुने देखिएपछि अध्यक्ष ओली संसदीय दलबाटै एमसीसी पारित गर्ने निर्णय गराउने पक्षमा पुगेका छन् । ओलीको क्रियाकलाप नियालिरहेका प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले ओलीको रणनीति असफल बनाउने गरी तयारी थालेका छन् । 

नेकपाको आन्तरिक विवादमा नेताहरुको शैली परिवर्तन भइरहेका देखिन्छ । केही हप्ता अघि प्रधानमन्त्री ओलीलाई सरकार वा पार्टी नेतृत्वबाट हटाउन एकजुट भएका नेताहरु अहिले एमसीसी पारित गर्न नदिने पक्षमा उभिएका छन् । केही अघि बसेको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमले ओलीलाई विश्वास गर्न नसकिने भन्दै हुबहु एमसीसी पारित गर्न खोजिए दुर्घटना हुने चेतावनी दिएका थिए । उपाध्यक्ष गौतमले दिइसकेका छन् । 

संसदी दलबाट एमसीसी पारित गराउने गरी अघि बढेका प्रधानमन्त्री ओलीले संसदबाट पारित गराउने कार्यमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलहरुको समर्थन प्राप्त हुने बुझेका छन् । तर, पार्टीको निर्णय विपरित अघि बढ्न खोजे दुर्घटना हुने चेतावनी ओलीइतरको समुहले प्रधानमन्त्री ओलीलाई दिइरहेका छन् । 

यसरी विवाद बढ्दै गएपछि पार्टी विभाजन हुन सक्नेतर्फ पनि नेताहरु सचेत पनि देखिन्छन् । उपाध्यक्ष गौतम र झलनाथ खनाल यसपटक कठोर निर्णय लिनबाट पछि हट्नु नहुने पक्षमा देखिएका छन् भने पार्टीमा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न  माधवकुमार नेपाल र विष्णु पौडेल सक्रिय हुन थालेका छन् ।