शुक्रबार
२६ असार
२०७७

लकडाउनविरुद्ध उद्योग वाणिज्य संघको ‘विद्रोह’, पोखरामा भोलिदेखि बजार खुल्ने

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं । सरकारले लकडाउनको नयाँ मोडालिटी ल्याएर जनजीवन खुकुलो नगरे विद्रोहको सम्भावना बढ्दै गएको छ । लकडाउनविरुद्धको विद्रोहको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघले गरेमा आश्चर्य नमाने हुन्छ । किनभने ७२ दिनदेखिको लकडाउनले सबैभन्दा ठूलो नोक्सान उद्योगी व्यवसायीले नै बेहोर्दै आएका छन् ।

मंगलबार नै महासंघ नेतृत्वले उपप्रधानमन्त्री एवं उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखेरललाई भेटेर लकडाउनको नयाँ मोडालिटी जारी गर्न आग्रह गरिसकेको छ । साथै, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र सम्पूर्ण आयकर बुझाउन गरेको सूचना अस्वीकार गर्ने महासंघलेृ स्पष्ट पारिसकेको छ ।

त्यसैले सरकारले उद्योगी व्यवसायीको सल्लाह नमानेमा देशको अर्थतन्त्र धराशयी हुने करिब करिब निश्चित छ । झापा, कैलाली, हेटौंडा, सुर्खेतलगायतका स्थानमा जनताले स्वतस्फूर्त लकडाउन उल्लंघन गर्दै बजार र व्यवसाय खुला गरेका छन् । बिहीबारदेखि पोखरामा पनि भोलिदेखि बजार खुल्ने भएको छ ।

आज उद्योग वाणिज्य संघले बजार खोल्ने निर्णय गर्ने भएको छ । कास्कीमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण फैलिसकेको छैन । पर्यटकीय क्षेत्र भए पनि पोखरा सुरक्षित नै छ । त्यसैले पोखराका उद्योगी व्यवसायीले सुरक्षा सतर्कता अपनाउँदै बजार खोल्ने निर्णय गर्न लागेका हुन् ।