शुक्रबार
२६ असार
२०७७

अभिनेत्री मनिषा कोइराला राजनीतिमा आउने !

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं । मुलुकको परिवर्तन र राजनीतिमा कोइराला परिवारको ठूलो योगदान रहेको छ । भारतको स्वतन्त्रताका लागि लडेको कोइराला परिवारले राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य गर्दै मुलुकमा बहुदलीय व्यवस्था, प्रजातन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ठूलो योगदान गरेको छ । 

नेपाली कांग्रेसबाट राजनीतिक गरेका कोइराला परिवारले मात्रै नभएर मुलुकले सधैं सम्झिरहने नेता हुन् वीपी कोइराला । वीपी राणा शासनदेखि पञ्चायतविरुद्धसम्म लडे भने पञ्चायतदेखि राजाको सक्रिय शासनविरुद्ध गिरिजाप्रसाद कोइराल लडेर मुलुक गणतन्त्रसम्म आइपुगेको छ । 

कोइराला परिवारबाट अहिले सक्रिय राजनीतिमा सुजता कोइराला, डा. शेखर कोइराला र डा. शशांक कोइराल रहेका छन् । उनीहरु राजनीतिमा रहेको कोइराला परिवारको विरासत जोगाउन लागिपरेका छन् । तर, यही बेला वीपीकी नातिनी, प्रकाश कोइरालाकी छोरी अभिनेत्री मनिषा कोइराला नेपालमा राजनीतिमा आउने चर्चाले अहिले स्थान पाइरहेको छ । भारतमा गान्धी परिवारको जस्तै नेपालमा कोइराला परिवारको राजनीतिमा बेग्लै खालको भूमिका रहँदै आएको छ । 

यसले पनि अभिनेत्री मनिषा नेपालको राजनीतिमा आउनुलाई अचम्म मान्नु पर्ने देखिँदैन । भारतका कयौँ कलाकार राजनीतिमा आएका छन् । पूर्व क्रिकेटर तथा ब्राडफोर्ड विश्वविद्यालयका पूर्व कुलपति इमरान खान पाकिस्तानका प्रधानमन्त्री हुन् । कला, खेललगायतका क्षेत्रमा स्थापित भइसकेका व्यक्ति राजनीतिमा आउने चलनजस्तै रहेको छ । 

हालै सरकारले लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेको छ । यसबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गरेको ट्वीटमा रिट्वीट गरेकी मनिषाविरुद्ध भारतीय मिडिया लागेपछि उनको देशभक्तिको रुपमा सामाजिक सञ्जालमा तारिफ भयो । 

उनलाई राजनीतिमा आउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आग्रह गरे । तर, यस बेला भारतमा रहेकी मनिषा मंगलबार बेलुकी  बेलहिया नाकाबाट नेपाल भित्रिएकी छन् । सीमानामा आइपुगेपछि नेपाली सेनाको टोलीले पिकअप गरेको मनिषा र उनको परिवारका सदस्यहरु होटलमा क्वारेन्टाइनमा बस्नेछन् ।

मनिषा नेपाल प्रवेश गरेसँगै उनी राजनीतिमा प्रवेश गर्ने चर्चाले अहिले बहस पाइरहेको छ । बलिउडमा स्थापित अभिनेत्री मनिषाले आफू राजनीतिमा आउने या नआउने विषयमा हालसम्म कुनै धारणा सार्वजनिक गरेकी छैनन् । तर, उनी राजनीतिमा आउने माहोल भने बनाइरहेकी स्रोतले जानकारी दियो । 


पछिल्ला वर्ष सामाजिक कार्यमा सक्रिय रहेकी उनी चलचित्र क्षेत्रमा भने देखिन छाडेकी छन् । यसले पनि आफ्नो हजुरबुवा वीपी र बुवा प्रकाशको राजनीतिक विरासत जोगाउन मनिषामा राजनीतिमा आउने तयारी गरेकी हुन् ।