शुक्रबार
२६ असार
२०७७

कर तिर्न धम्की दिने सरकारको व्यवहार अमानवीय र गैरजिम्मेवार : नेता दीपक बोहरा

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं । राप्रपाका नेता तथा पूर्वमन्त्री दीपक बोहराले कर तिर्न उर्दी जारी गर्ने सरकारको व्यवहार अमानवीय र गैरजिम्मेवार रहेको आरोप लगाएका छन् । 

मंगलबार सरकारको तर्फबाट निकालिएको सार्वजनिक सूचनामा  यही जेठ २५ गतेभित्र कर बुझाउन भनिएको छ । तर, ७२ दिनदेखि लकडाउनका कारण घरमै बन्दी बनेका व्यापारी, व्यवसायी, उद्योगीलगायत सबैलाई कर तिर्न अल्टिमेटम दिने सरकारको व्यवहारलाई नेता बोहराले अमानवीय, गैरजिम्मेवार र व्यवसायको हित विपरीत रहेको बताएका हुन् । 

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बोहराले  लकडाउनबाट शिथिल अर्थतन्त्रमा सुधार गर्न, रोजगारी सिर्जना गर्न सरकार व्यवसायी मैत्री हुनु पर्नेमा जोड दिएका छन् । 

फेसबुकमा उनले लेखेका छन्, ‘लकडाउनका कारण व्यवसाय ७२ दिन देखि ठप्प छ । तर सरकारले जेठ २५ भित्र कर तिर्न बाध्यात्मक र धम्कीपूर्ण सुचना दिएको छ । सरकारको कदम अमानवीय, गैरजिम्मेवार र व्यबसायको हित विपरीत छ । लकडाउनबाट शिथिल अर्थतन्त्रमा सुधार गर्न, रोजगारी सिर्जना गर्न सरकार व्यबसायी मैत्री हुनैपर्छ– सच्याऔ।’