बुधबार
२४ असार
२०७७

स्वास्थ्यमन्त्री ढकालले २९ जना कार्यकर्तालाई सर्विलेन्स अफिसर नियुक्त गरे, मासिक ३० हजार तलब र १५ सय भत्ता

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं । कोरोना भाइरस महामारीका बेला सरकारमा बस्नेबाट राज्यकोष दोहनको शृंखला रोकिएको छैन । स्वास्थ्य विपत्को बेला सबैभन्दा व्यस्त र कार्ययोजना ल्याउने काम स्वास्थ्य र अर्थमन्त्रीको हो । तर, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल गुमनाम छन् । अर्थमन्त्री डा.युवराज खतिवडा भने जेठ २५ गतेभित्रै सबै कर तिर्न उर्दी जारी गरेर विवादमा आएका छन् ।

केही समयसम्म सेल्फ क्वारेन्टाइनमा बसेका स्वास्थ्यमन्त्रीले कोरोनाभाइरसबारे सार्वजनिक मिडियामा बोल्नै छाडेका छन् । दिनदिनै कोरोना संक्रमणले महामारीको रूप लिँदै गएको छ । आजसम्म २२ सय मानिस संक्रमित भइसकेका छन् । तर, स्वास्थ्यमन्त्री भने कोरोना रोकथाम र नियन्त्रणका लागि योजना ल्याउन भन्दा आफ्ना कार्यकर्तालाई जागिर खुवान लागिपरेका छन् ।

स्रोतका अनुसार स्वास्थ्यमन्त्री ढकालले २९ जना पार्टी कार्यकर्तालाई सर्विलेन्सको अफिसर नियुक्त गरेका छन् । मासिक ३० हजार तलब (यातायात भत्ता) र दैनिक १५ सय खाजाखाना खर्च दिने गरी उनले नियुक्ति दिएको स्वास्थ्य मन्त्रालयका एक अधिकृतले जानकारी दिए । नियुक्त भएकाका लागि सातवटै प्रदेशमा कन्ट्याक्ट ट्रेसिङका लागि पठाइएको छ । 

सरकारले कोरोना संक्रमितसँग कन्ट्याक्टमा आएकाबारे विवरण लिन निजामती कर्मचारी र नेपाल प्रहरी प्रयोग गर्न सक्छ । तर, अहिलेसम्म उनीहरूलाई त्यो जिम्मेवारी दिइएको छैन । राज्यकोषको पैसा खर्च गर्ने गरी मन्त्री ढकालले किन बाहिरबाट नियुक्त गरी प्रदेशमा पठाए ? भन्ने विषय अहिले स्वास्थ्य मन्त्रालयमा चर्चाको विषय बनेको छ । जबकि स्वास्थ्य मन्त्रालयका सयौं कर्मचारी काम नपाएर घरमै बसिरहेका छन् ।