शुक्रबार
२६ असार
२०७७

नेकपाभित्र ओली र प्रचण्ड को बहुमतमा ? यस्तो छ समीकरण

बिहीबार असार ११, २०७७/ Thursday 06-25-20

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता पश्चात गठन भएको नेकपाभित्र सुरुवात अवस्थादेखि नै अन्तर्विरोध चर्किंदै आएको छ । पार्टी एकता घोषणा भएको गत जेठमा दुई वर्ष पूरा भएको छ । तर, पार्टीभित्र टड्कारो रुपमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई धारमात्रै होइन अन्य गुटहरु पनि देखिँदै आएको छ । 

ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । गत फागुनमा वर्तमान सरकारले दुई वर्ष पूरा गरेपछि ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट हटाउन आफ्नै पार्टीभित्रबाट खेल भयो । दुई तिहाइ नजिकको बहुमत प्राप्त पार्टी नेकपाले सरकार चलाइरहँदा चुनावै नजितेका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्ने तयारी भएपछि व्यापक आलोचना भयो । 

यसरी नेकपाभित्र विकसित राजनीति घटनाक्रमले मुलुकको राजनीति र सरकार सञ्चालनमा नकारात्मक प्रभाव पर्दै आइरहेको छ । यसैबेला बुधबारबाट नेकपाको स्थायी समितिको बैठक सुरु भएको छ । स्थायी समिति सदस्यहरुले बैठक बोलाउन बारम्बार माग गरिहँदा टार्दै आएको नेतृत्वबीचको टकरावले स्थायी समिति बैठक दुईपटक बस्दै नबसी स्थगित गरिएको थियो । 

अन्ततः बुधबारबाट स्थायी समिति बैठक सुरु भएको छ । बुधबार दुई अध्यक्ष ओली र प्रचण्डले सम्बोधन गरेपछि स्थगित गरिएको बैठक शुक्रबार बस्नेछ । सो बैठकमा पार्टीको निर्णयअनुसार एक व्यक्ति एक पदको अवधारणा लागू गर्न प्रचण्ड तथा माधवकुमार नेपालसमूहले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई बाध्य बनाउने रणनीति लिएका छन् । तर, यसलाई टार्ने गरी ओलीले पनि तयारी गरिरहेका छन् । 

दुवै समूहको अडान अथावत रहँदा स्थायी समिति बैठकमा को बहुमतमा रहेका छन् भन्नेले पनि अर्थ राख्ने नेकपाका नेताहरुको भनाइ छ । हालसम्मको समीकरण हेर्दा प्रचण्ड बहुमतमा देखिन्छन् । ४५ जनाको स्थायी समिति सदस्यमा अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाको सभामुख बनेकाले ४४ जना सदस्य रहेका छन् ।

जसमध्ये प्रचण्ड समूहमा १८ जना सदस्य छन् । प्रचण्डलाई साथ दिँदै आएका माधवकुमार नेपाल झलनाथ खनालले समर्थन गरेमा प्रचण्डको ३१ सदस्यसहित बहुमतमा देखिन्छन् । ओली समूहमा १३ जना स्थायी समिति सदस्य छन् । केन्द्रीय सचिवालयमा पनि अल्पमतमा देखिएका ओली स्थायी समितिमा पनि कमजोर देखिएका हुन् । 

अल्पमतमा रहेको थाहा पाएसँगै स्थायी समिति बैठक टार्दै आएका ओली समूहमा वामदेव गौतम, ईश्वर पोखरेल, शंकर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, किरण गुरुङ,  पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, प्रदीपकुमार ज्ञवाली, छविलाल विश्वकमा र रघुवीर महासेठ रहेका छन् । उपाध्यक्ष वामदेव गौतमलाई ओली समूहले आफ्नो पक्षमा दावी गर्दै आएको छ । तर, उनी प्रचण्ड–नेपाल समूहका नेताको रुपमा हेरिएको छ । 

यस्तै प्रचण्ड समूहमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, चक्रपाणि खनाल, टोपबहादुर रायमाझी, देव गुरुङ, पम्फा भुसाल, देवेन्द्र पौडेल, मातृका यादव, शक्ति बस्नेत,  हरिबोल गजुरेल, लिलामणि पोखरेल, लेखराज भट्ट, मणि थापा र गणेश साह रहेका छन् । 

साथै नेपाल– खनाल समूहमा घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, रघुजी पन्त,  योगेश भट्टराई, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने रहेका छन् ।