शनिबार
२० असार
२०७७

कान्तिपुरमा भीषण पजनी

शनिबार असार १३, २०७७/ Saturday 06-27-20

कान्तिपुर सञ्चार(गृहले आफ्नो लोकप्रिय साप्ताहिक प्रकाशन नेपाल बन्द गर्ने निर्णय गरेछ । नेपालसँगै कान्तिपुरबाट निस्किरहेका अरू २ वटा पत्रिका पनि बन्द गरिएका छन् ।ती पत्रिकाहरूमा काम गरिरहेका सबै श्रमजीवी पत्रकारहरू बेरोजगार भएका छन् । तिनीहरूको बेरोजगारी कति समय लम्बिने हो आजको घडीमा कसैलाई पनि थाहा छैन । कोभिड १९ को माहामारीले नेपाली श्रमिकहरूमाथि पारेको भीषण दुष्प्रभावको एउटा ज्वलन्त दृष्टान्त हो यो । 

महामारीले नेपाली कामदारहरूका अन्य कुन कुन समूहको रोजीरोटीको हरण गरेको छ त्यसको यथातथ्य विवरण सार्वजनिक भएको छैन । यस विषयमा खासै सोधखोज भएको जस्तो पनि लाग्दैन । म आफू जीवनभर एक भन्दा बढी हैसियतमा पत्रकारिताको क्षेत्रसँग नै सम्बन्धित रही आएकोले एउटा धनाढ्य सञ्चार व्यावसायिक उपक्रमले डरलाग्दो पजनी गरेर थोकको हिसाबले पत्रकारहरूको जागिर खोसिदिएको घटनाले मेरो ध्यान आकृष्ट गरेको हुनु पर्दछ ।

कान्तिपुरका मालिकहरूले त्यसै उपक्रमले गरेको आर्जनबाट जोडेको असीम वैभवका प्रकाशमा हेर्दा यति चाँडै घुँडा टेकेर आफ्ना पचासौँ कामदार पत्रकारहरूको बिचल्ली पार्नु नहुने थियो जस्तो लाग्दछ । तर व्यवस्थापन पक्षको कुरो राम्रोसँग बाहिर नआएकोले यकीनका साथ केही भन्न सकिँदैन । नेपालमा निजी क्षेत्रका पत्र(पत्रिकाहरूका मालिकहरू निरन्तर धनी र शक्तिशाली हुँदै जाने तर तिनै संस्थाहरूमा काम गर्ने कामदार पत्रकारहरू भने जहिले पनि ठन्ठन गोपाल नै रहने एक प्रकारको स्थायी स्थिति रहेको वास्तविकतालाई सम्झँदा भने यो मास डिस्मिसल नौलो लाग्दैन ।

बन्द गरिएको लोकप्रिय साप्ताहिक नेपालका लागि मैले लामै समयसम्म पुस्तक समीक्षाको स्तम्भ चलाएको थिएँ । नेपाली पत्रकारिता र फुर्मायसी लेखनको क्षेत्रमा सक्रिय र मेरो हृदयको निकट रहेका धेरै युवाहरूले नेपालमा काम गरेका थिए, कतिजना हालसम्म पनि काम गर्दै थिए । त्यस साप्ताहिक पत्रिकाका सबैले मलाई स्नेह र सम्मान दिने गरेका थिए । त्यस्तो पत्रिका बन्द भएकोमा त मलाई धेरै दुख लागेको छ नै ती भाइ(बहिनीहरू अचानक बेरोजगार बन्न पुगेकोमा म झनै बढी उद्विग्न भएको छु । आशा गर्दछु, छिट्टै कोरोनाको प्रकोप साम्य हुनेछ, कैलाश सिरोहियाजीहरूले पुनस् नेपालको प्रकाशन शुरू गर्नु हुनेछ र अहिले आम पजनीमा परेका सबै पत्रकार र अन्य कर्मचारीहरूको त्यहीँ नै थमौती हुनेछ । आमेन १ भवतु सब्ब कल्याणम् ।