शुक्रबार
२६ असार
२०७७

नेकपामा प्रधानमन्त्री ओलीको प्रतिरक्षा गर्ने नेताको खडेरी

शनिबार असार १३, २०७७/ Saturday 06-27-20

काठमाडौं । धेरै ठूलो रस्साकस्सीबीच सुरु भएको नेकपाको स्थायी कमिटीको दोस्रो दिनको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली अनुपस्थित भए । उनको अनुपस्थितिलाई लिएर पार्टीमा फेरि किचलो बढेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा ओली किन आउन चाहेनन् भन्ने विषयले राजनीतिमा तरंग सुरु भएको छ । कसैले यसलाई ओलीको दम्भ र हठ भनेर टिप्पणी गरेका छन् । कसैले आफ्नो आलोचना हुने डरले ओली आएनन् भन्न थालेका छन् । तर, वास्तविकता भने अर्कै रहेको नेकपा नेताहरू बताउँछन् ।

यतिबेला ओली राजनीतिको निकै कठिन मोडबाट गुज्रिरहेका छन् । खाली गफ दिने र तर त्यसको कार्यान्वयन नगर्ने उनको कार्यशैलीले वर्तमान सरकार विवादमा परेको हो । धेरै आलोचित भएको हो । अहिले ओलीसँग आफ्नो र सरकारको प्रतिरक्षा गर्ने नेताको संकट छ । स्थायी कमिटीमा उनी निकट मात्र १३ जना नेता रहेको बताइन्छ । आफ्नै मन्त्रिपरिषद्का सदस्य पनि स्थायी कमिटीमा ओलीसँग छैनन् । सोही कारण ओली शुक्रबारको स्थायी कमिटी बैठकमा आउन नचाहेको नेताहरू बताउँछन् ।

स्थायी कमिटी सदस्य शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङलगायत केन्द्रको राजनीतिमा छैनन् । उनीहरू ओली निकट नेता हुन् । स्थायी कमिटीमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल समूह बहुमतमा भएकाले ओली तनावमा छन् ।