शनिबार
७ मङ्सिर
२०७६

एनआरएनलाई नेपालीको सुझाव, अर्काेपटक देश बनाउन नेपाल नआउनुस्

शुक्रबार कार्तिक १, २०७६/ Friday 10-18-19

काठमाडौं । विभिन्न कारणले देश छाडेर ५० लाखभन्दा बढी नेपाली विदेशमा बसेका छन् । अध्ययन गर्नदेखि कमाउने उद्देश्यले उनीहरु विदेशी भूमिमा पुगे । यिनै नेपालीको साझा संगठन अर्थात छाता संगठनको रुपमा सन् २००३मा उपेन्द्र महतोको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) गठन गरियो । यसमा आवद्ध सदस्यहरुले नेपालको समृद्धिको बाधक अस्थिर राजनीति, दण्डहिनता र अनुशासनविहीनलाई लिए । मुलुकमा कानुनी शासनको अभाव, अनुशासनविहीन समाज, बढेको गुण्डागर्दीले नेपालमा लगानी गर्न नसकेको र स्वदेशमै केही गरौं भन्ने आँट नआएको बताए । नेपालको विकास र समृद्धिमा एनआरएनहरुले आफ्नो भूमिका रहने बताए । यसका लागि लगानी सुरक्षादेखि कानुनी शासनको अपेक्षा गरे । मुलुकको विकास नहुनुमा अराजकता चरित्र हावी भएको बताए । प्रत्येक दुई दुई वर्षमा एनआरएनएले नयाँ नयाँ नेतृत्व पायो । दशैंकै बेला नेपालमा महाधिवेशन भए, मानौं दशैँमा जन्मभूमि फर्कन महाधिवेशन बहाना बनोस् । ठ्याक्कै यस्तै भयो यसपटक पनि, दशैंको कोजाग्रत पूर्णिमा सकिएलगत्तै काठमाडौंमा एनआरएनएको नवौं महाधिवेशन भयो । भवन भट्टको ठाउँमा कुमार पन्त पुगे । कुल आचार्यलाई पराजित गरेर कुमार पन्त अध्यक्षमा विजयी भए । 

एनआरएनएप्रति नेपाल सरकारको मात्रै होइन आम नागरिकको उत्तिकै आशा र विश्वास थियो, मुलुकको समृद्धिमा टेवा पुर्‍याउँछन् भन्ने ।   अर्ती दिन जति सजिलो छ, आफैंमा लागू गर्न त्यत्ति नै गाह्रो हुन्छ, यसलाई चरितार्थ गरे नवौं महाधिवेशनमा एनआरएनहरुले । आममानिसले उनीहरुप्रति गरेको भरोसा असोज १९ गते राति महाधिवेशनस्थल होटेल हायातमा भएको घटनाले चकनाचुर भयो । अझ महाधिवेशन अघि र चुनावी कार्यक्रमका बेला एनआरएनहरुले देखाएको उदण्ड चरित्रले एनआरएनहरुप्रतिको दृष्टिकोणमा ठूलो परिवर्तन आयो । सामाजिक सञ्जालमा एनआरएनहरुप्रति मानिसको आक्रोश पोखियो । ‘नेपालको विकासमा एनआरएनहरुले होटेल हायातमा कुर्सी भाँचे, देखाए एनआरएनहरुले आफ्नो असली चरित्र, भो नेपाल बनाउन आउनु पर्दैन एनआरएनहरु’ जस्ता स्ट्याटस बने । 

विदेशी भूमिमा  कानुनलाई स्वीकारेर अनुशासित ढंगमा बसेका एनआरएनहरु आफू अनुकूलको परिस्थिति नभएपछि जन्मभूमिमा होहल्ला गर्दै तोडफोडमा उत्रिनुलाई सामान्य माने, यसैले आममानिसको उनीहरुप्रतिको सोच बदलिदियो । यसैलाई बुझेर होला नवनिर्वाचित अध्यक्ष कुमार पन्तले भने अब नेपालमा महाधिवेशन गर्दैनौं । उनीहरुले बुझेनन्, हायात होटेलमा एनआरएनएको महाधिवेशन मात्रै चलेको छैन अरु पाहुना पनि बसेका छन् । एनआरएनहरुको होहल्ला र तोडफोडले होटेलमा बसेका विदेशी पाहुनालाई परेको असरबारे उनीहरुले ख्यालै गरेनन् । ती विदेशीले आफ्नो देशमा लैजाने सन्देशबारे हेक्कै राखेनन् । एनआरएनहरुले भन्ने गर्थे, नेपाल घुम्न आएका विदेशी पर्यटकले लैजाने सन्देशले आफूहरुलाई विदेशमा लाज लाग्ने गरेको छ । होटेल हायातमा भएको घटनालाई कसरी लैजान्छन् विदेशी पाहुनाले ?