शनिबार
२० असार
२०७७

स्थायी समिति बैठकमै नगई नेकपामा ओलीको ‘क्षेप्यास्त्र’

सोमबार असार १५, २०७७/ Monday 06-29-20

काठमाडौं ।सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी समिति बैठकमा सामान्य उपस्थिति देखाउँदै आफूहरुविरुद्धका नेताहरुले कडा जवाफ दिएका छन् । स्थायी समितिको बैठक सुरु भएको दिन गत बुधबार उपस्थित भएका ओली शुक्रबार सहभागी भएनन् भने शनिबार केहीबेर मात्रै सहभागी भए । सो बैठकमा एक व्यक्ति एक पदको कुरा उठ्ने भएपछि र आफूविरुद्ध राजनीतिक खेल भइरहेको बुझेका ओलीले यसको प्रतिरक्षाका लागि आइतबार कडा प्रतिक्रिया सार्वजनिक गरे । 

मुलुकको भूमि समेटेर नक्सा जारी गर्नु, नयाँ नक्सालाई कानुनी हैसियत दिनु अपराध हो र भन्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो सरकार ढाल्न भारत र मुलुकभित्रकै शक्ति सक्रिय रहेको बताए । अहिले आफू सरकारबाट बाहिरिए अरुले नेपालको पक्षमा बोल्न नसक्ने भएकाले आफ्नो सरकारले निरन्तरता पाउनु पर्ने ओलीले बताए । 

सरकार गठन भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने प्रावधान छ । सरकार गठनको पहिलो दुई वर्ष सरकार परिवर्तनको प्रावधान नभएपछि गत माघसम्म ओली सरकारको विकल्प खोजिएको थिएन । तर, फागुनदेखि भने ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पार्टीभित्रबाटै खेल भइरहेको छ । 

विभिन्न परिस्थितिको सामना गर्दै आएका ओलीले फेरि स्थायी समितिबाट उनलाई सरकार वा पार्टी नेतृत्वमा हट्न दबाब दिने देखिएपछि आइतबार ओलीको सो अभिव्यक्ति आएको हो । मुलुकको स्वाभिमानका लागि काम गरेकै आधारमा सरकारबाट हटाउने खेल भइरहेको भन्दै उनले आफूविरुद्ध लागेका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका आफ्नै नेताहरुलाई कडा जवाफ दिएका हुन् ।

आफूलाई हटाउने खेलमा भारतीय संयन्त्रसमेत लागेको ओलीको आरोप छ । यस अभिव्यक्तिले आफू सरकारबाट हट्नु परेमा भारत र आफ्नै पार्टीभित्रको खेलका कारण बाहिरिनु परेको सन्देश दिन खोजेका ओलीले प्रतिस्पर्धी नेताहरुलाई सरकारविरुद्धको खेल रोक्न दबाब सृजना गरेका हुन् । यदी ओलीको विकल्प खोजेमा भारतीय दबाबमा रहेको जनताले बुझ्ने भएकाले नेताहरु पछि हट्न सक्नेछन् ।